न्यूयोर्कमा मम्दानीले कुरानमा हात राख्दै लिए सपथ ग्रहण : इतिहास र परिवर्तनको नयाँ अध्याय सुरु

इनेप्लिज २०८२ पुष १७ गते ११:५३ मा प्रकाशित

जोहरान मम्दानी औपचारिक रूपमा न्यूयोर्क शहरका नयाँ मेयर (नगर प्रमुख) बनेका छन्। गत बिहीबार मध्यरातपछि उनले म्यानहाटनको एक ऐतिहासिक तर अब प्रयोगमा नरहेको भूमिगत रेलस्थानक अर्थात् सबवे स्टेशनमा पद तथा गोपनीयताको शपथ लिए। यो कार्यक्रम निजी रूपमा सम्पन्न भएको थियो।

मम्दानीले शपथ लिँदा कुरानमा हात राखेका थिए, जसले उनलाई अमेरिकाको सबैभन्दा ठूलो शहरका पहिलो मुसलमान नगर प्रमुख बनाएको छ। शपथ समारोह न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसा जेम्सले सञ्चालन गरेकी थिइन्।

शपथपछि मम्दानीले भने, “यो मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो।” उनले सार्वजनिक यातायात शहरको जीवनका लागि कति महत्वपूर्ण छ भन्ने बताउँदै नयाँ यातायात आयुक्त माइक फ्लिनको नाम पनि घोषणा गरे।

३४ वर्षका मम्दानी दक्षिण एसियाली मूलका, अफ्रिकामा जन्मिएका र पुस्तौँयताकै सबैभन्दा कान्छा नगर प्रमुख (मेयर) हुन्। उनी युगान्डाको कम्पालामा जन्मिएका हुन्। उनका बुबा–आमा प्रसिद्ध विद्वान र हिन्दी चलचित्र निर्माता हुन्। ७ वर्षको उमेरमा उनी न्यूयोर्क सरेका थिए र २०१८ मा अमेरिकी नागरिक बने।

उनले चुनावी अभियानमा महँगाइ घटाउने विषयलाई मुख्य मुद्दा बनाएका थिए। उनका योजनामा निःशुल्क बालहेरचाह, निःशुल्क बस सेवा, करिब १० लाख घरधुरीका लागि भाडा नबढाउने नीति र शहरले सञ्चालन गर्ने सस्तो किराना पसलको योजना समावेश छ।

तर नगर प्रमुख बनेपछि उनलाई फोहोर व्यवस्थापन, हिउँ, मुसा, भूमिगत सबवे र सडकका खाल्डाखुल्डी जस्ता दैनिक समस्याको जिम्मेवारी पनि सम्हाल्नुपर्नेछ।

मम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि काम गर्नुपर्नेछ। चुनावका बेला तनाव भए पनि पछि दुवैबीच व्हाइटहाउसमा भेटघाट भएको थियो। तर आप्रवासन जस्ता विषयमा मतभेद रहने सम्भावना छ।

प्रतिक्रिया