टेक्ससका युवक आईएसआईएसलाई बम बनाउने सामग्री दिन खोज्दा पक्राउ

इनेप्लिज २०८२ पुष १५ गते १२:२८ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको मिडलोथियन शहरका एक युवकलाई आईएसआईएस जस्ता विदेशी आतंकवादी संगठनलाई सहयोग गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार जोन माइकल गर्जा जुनियरनामका ती युवकले आफू आईएसआईएस सदस्य ठानेको व्यक्तिलाई बम बनाउन प्रयोग हुने सामग्री दिन खोजेका थिए।

संघीय अभियोगपत्रअनुसार गर्जाले डिसेम्बर २२ मा बम बनाउने सामग्री लिएर भेटघाट गरेका थिए। तर वास्तविकतामा उनी एफबीआईका गोप्य गुप्तचरसँग भेटिरहेका थिए। भेटका क्रममा गर्जाले बम कसरी बनाउने भन्ने तरिका बताए र त्यससम्बन्धी श्रब्य दृश्य (भिडियो )पठाइदिने प्रस्ताव समेत गरेका थिए।

सिबिएसन्यूजका अनुसार यो घटना अक्टोबर महिनाबाट सुरु भएको थियो। न्यूयोर्क प्रहरी विभागका एक गोप्य कर्मचारीले सामाजिक सञ्जालमा आईएसआईएस समर्थक खाताहरू फलो गरिरहेको एक कहता देखे, जुन पछि गर्जाको भएको पुष्टि भयो।

बिधुतिय (अनलाइन) कुराकानीका क्रममा गर्जाले आफू आईएसआईएसको विचारधारामा विश्वास गर्ने बताए र क्रिप्टोकरेन्सीमार्फत सानो रकम पठाएर आतंकवादी गतिविधिमा सहयोग गरेको ठाने।

अमेरिकी न्याय विभागका अनुसार गर्जाले आईएसआईएसका आधिकारिक प्रचार सामग्री पनि पठाएका थिए। अमेरिकी अधिकारीहरूले यस गिरफ्तारीलाई देशको सुरक्षाका लागि ठूलो सफलता भनेका छन्।

गर्जाको पहिलो अदालत उपस्थिती डिसेम्बर २३ मा भएको थियो भने डिसेम्बर ३० मा थप सुनुवाइ तय गरिएको छ। अधिकारीहरूले आतंकवादविरुद्ध शून्य सहनशीलताको नीति दोहोर्‍याएका छन्।

प्रतिक्रिया