
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई छिट्टै हतियार छोड्न कडा चेतावनी दिएका छन्। सोमबार फ्लोरिडाको उनको निजी निवास मारोलागोमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटपछि ट्रम्पले भने, “यदि हमासले छिट्टै निशस्त्रीकरण गरेन भने, त्यसको गम्भीर परिणाम भोग्नुपर्नेछ।”
राष्ट्रपति ट्रम्पका अनुसार, गाजामा प्रस्तावित शान्ति योजनाको दोस्रो चरण अगाडि बढ्न हमासले हतियार छोड्नैपर्छ। शान्ति सम्झौतामा समर्थन जनाएका ५९ देश हमासले आफ्नो वाचा तोडेको खण्डमा हमासलाई “समाप्त गर्न” तयार रहेको उनले दाबी गरे । तर ती देशहरूको नाम भने उनले खुलाएनन्।

ट्रम्पले स्पष्ट शब्दमा भने, “हमासलाई धेरै छोटो समय दिइनेछ। उनीहरूले निशस्त्रीकरण गर्ने वाचा गरेका छन्। यदि त्यो पूरा भएन भने, हामी कडा कदम चाल्न बाध्य हुनेछौं।” उनले थपे कि अमेरिकातर्फबाट यो प्रक्रिया हेर्ने जिम्मा स्टिभ विटकोफ र जार्ड कुश्नरलाई दिइएको छ।
प्रधानमन्त्री नेतान्याहूले राष्ट्रपति ट्रम्पसँगको भेटलाई “अत्यन्त फलदायी” भने र शान्ति प्रयासमा सहयोग गरेकोमा धन्यवाद दिए। उनले राष्ट्रपति ट्रम्पलाई इजरायलको सबैभन्दा प्रतिष्ठित सम्मान ‘इजरायल पुरस्कार’ दिने घोषणा पनि गरे, जुन पहिलो पटक कुनै गैर-इजरायलीलाई दिइन लागेको हो।
सिबिएसन्यूजका अनुसार गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत युद्धविराम लागू भएको छ, बन्धक फिर्ता गर्ने र मानवीय सहायता पुर्याउने काम भइरहेको छ।

तर दोस्रो चरणमा हमासको निशस्त्रीकरण, शासन अन्त्य र नयाँ अस्थायी प्रशासन बनाउने कुरा छ तर अहिलेसम्म लागू भएको छैन। हमासले हतियार छोड्न अस्वीकार गरेको छ र सबै बन्धकको अवशेष पनि फिर्ता गरेको छैन।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानले पुनः आणविक वा प्राक्षेपिक (ब्यालिस्टिक) क्षेप्यास्त्र कार्यक्रम अघि बढाए इजरायलको कारबाहीलाई समर्थन गर्ने बताए। उनले नेतान्याहूलाई “युद्धकालीन नायक” भन्दै प्रशंसा गरे।
यो राष्ट्रपति ट्रम्प र नेतान्याहूबीच जनवरीमा ट्रम्पले पद सम्हालेपछि भएको छैटौं भेट हो।
प्रतिक्रिया