
ट्रम्प प्रशासनले वैदेशिक सहायतामा भारी कटौती गर्ने क्रमलाई निरन्तरता दिँदै संयुक्त राज्य अमेरिकाले सोमबार संयुक्त राष्ट्र संघको मानवीय सहायताका लागि २ बिलियन डलर दिने घोषणा गरेको छ।
नयाँ आर्थिक यथार्थलाई स्वीकार गर्दै अमेरिकी प्रशासनले राष्ट्र संघका निकायहरुलाई “अनुकूल बन, खुम्च वा समाप्त होऊ” भन्ने कडा चेतावनी दिएको छ।
यो रकम विगतमा अमेरिकाले दिँदै आएको सहयोगको तुलनामा निकै सानो अंश हो। यद्यपि, वर्तमान प्रशासनले यसलाई उदार रकम मानेको छ र यसले विश्वको सबैभन्दा ठूलो मानवीय दाताको रूपमा अमेरिकाको स्थितिलाई कायम राख्ने दाबी गरेको छ।
सिविएसन्यूजका अनुसार यो घोषित रकम एक ‘अम्ब्रेला फन्ड’ (एकीकृत कोष) को रूपमा रहनेछ, जहाँबाट विभिन्न निकाय र प्राथमिकताका आधारमा बजेट बाँडफाँड गरिनेछ। विश्व संस्थामा व्यापक परिवर्तन ल्याउने अमेरिकी मागको यो एउटा मुख्य हिस्सा हो, जसले धेरै मानवीय सहायताकर्मीहरूलाई चिन्तित तुल्याएको छ।
यस कटौतीले गर्दा कतिपय कार्यक्रम र सेवाहरूमा ठूलो कटौती भइसकेको छ।
संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार, विगतका वर्षहरूमा अमेरिकाले वार्षिक १७ बिलियन डलरसम्म मानवीय सहायता उपलब्ध गराउँदै आएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार तीमध्ये ८ देखि १० बिलियन डलर स्वैच्छिक योगदान हुने गर्दथ्यो। यसबाहेक, अमेरिकाले संयुक्त राष्ट्र संघको सदस्यता शुल्कबापत वार्षिक बिलियन डलर छुट्टै तिर्ने गर्दछ।
प्रतिक्रिया