इजरायल-हमास युद्ध अन्त्यको प्रयास: ट्रम्प र नेतन्याहुबीच आज फ्लोरिडामा महत्त्वपूर्ण भेटवार्ता

इनेप्लिज २०८२ पुष १४ गते ११:१९ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज (सोमबार) फ्लोरिडामा विशेष भेटवार्ता हुँदैछ। यो भेटवार्ता ट्रम्पको निजी निवास मारालागोमा हुने तय भएको छ। यस बैठकको मुख्य उद्देश्य गाजामा जारी युद्ध रोक्न ल्याइएको ‘२०-बुँदे शान्ति योजना’ लाई अगाडि बढाउनु हो।

गत अक्टोबर महिनामा भएको युद्धविराम यस शान्ति योजनाको पहिलो चरण थियो। यो योजना जम्मा तीन चरणमा पूरा हुने लक्ष्य राखिएको छ। तर, दोस्रो चरणका सर्तहरूका बारेमा अझै सहमति जुट्न बाँकी छ।

गाजामा अहिले युद्धविराम पूर्ण रूपमा लागू नभए पनि ठूला लडाइँहरू कम भएका छन्। इजरायली सेना गाजाभित्रको एउटा निश्चित सीमा (येलो लाइन) सम्म पछि हटेको छ।

अझै पनि गाजामा एक जना इजरायली बन्धकको शव रहेको विश्वास गरिन्छ। यता, इजरायलले लेबनानमा रहेका ‘हेजबुल्लाह’ का लडाकुहरूलाई लक्षित गरी आक्रमण जारी राखेको छ।

ट्रम्प र नेतन्याहुबीचको यो छलफलले गाजामा स्थायी शान्ति ल्याउन र बन्धकहरू फिर्ता गर्न मद्दत पुग्ने आशा गरिएको छ।

प्रतिक्रिया