ट्रम्प र जेलेन्स्की बीच फ्लोरिडामा ३ घन्टा लामो ऐतिहासिक भेट, शान्ति सम्झौता ९५% नजिक तर डोनबास क्षेत्र अझै चुनौती

इनेप्लिज २०८२ पुष १३ गते २२:५२ मा प्रकाशित
Screenshot

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको करिब तीन घण्टा लामो भेटलाई “अत्यन्त उत्कृष्ट” भनेर वर्णन गरेका छन्। 

फ्लोरिडाको मारोलागोमा भएको यस भेटमा दुवै नेताले युक्रेन–रुस युद्ध अन्त्य गर्ने विषयमा गहिरो छलफल गरे।

राष्ट्रपति ट्रम्पले भने, “हामीबीच धेरै राम्रो भेट भयो। धेरै विषयमा कुरा भयो। म साँच्चिकै भन्छु, हामी अहिले शान्तिको धेरै नजिक पुगेका छौँ।” उनले युद्ध अन्त्यतर्फ ठूलो प्रगति भएको दाबी पनि गरे।

Screenshot

यसै भेटका क्रममा राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेन्स्कीले युरोपेली नेताहरूसँग दूरवार्तामा छलफल गरेका थिए। 

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार यो सामूहिक संवाद अब समाप्त भइसकेको छ। छलफलको मुख्य विषय युक्रेनका लागि प्रस्तावित नयाँ शान्ति योजना थियो।

राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता “लगभग नजिक” रहेको बताए पनि केही गम्भीर समस्या अझै बाँकी रहेको स्वीकार गरे। उनले सम्झौताको करिब ९५ प्रतिशत सहमति भइसकेको संकेत गरे तर सबै कुरा अन्तिम नभएको स्पष्ट पारे।

Screenshot

सबैभन्दा ठूलो विवादको विषय भनेको पूर्वी डोनबास क्षेत्र हो। रुसले यो क्षेत्र युक्रेनले छोड्नुपर्ने माग गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले भने, “यो ठूलो मुद्दा हो, तर हामी यसमा पनि नजिक पुगेका छौँ।”

यद्यपि राष्ट्रपति ट्रम्पले वार्ता निकै जटिल रहेको बताए। उनले भने, “कहिलेकाहीँ सोच्नै नसकेको एउटा सानो कुरा नै ठूलो समस्या बन्छ।” त्यसैले उनले शान्ति सम्झौताको निश्चित समय बताउन मानेनन्, तर “केही हप्तामा थाहा हुनेछ” भने।

राष्ट्रपति ट्रम्पले आवश्यक परेमा युक्रेन जान र त्यहाँको संसदमा सम्बोधन गर्न पनि तयार रहेको बताए। तर उनले सम्झौता त्यस्तो यात्रा नगरी नै टुंग्याउन चाहेको संकेत दिए।

यसमा प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले भने, “तपाईंलाई स्वागत छ।” तर युक्रेनको संविधानअनुसार कुनै पनि भूभाग छोड्ने निर्णय संसदले मात्र गर्न सक्दैन, त्यसका लागि जनमत संग्रह (रेफरेन्डम) अनिवार्य हुन्छ । 

Screenshot

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्ने क्रममा रुसद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरिएको विषयको अनुसन्धानलाई पटक–पटक उठाए । उनले यसले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्बन्ध अझ नजिक बनाएको दाबी गरे।

“हामीले ‘रुस, रुस, रुस’ भन्ने झुटो आरोप सँगै झेल्यौं,” राष्ट्रपति ट्रम्पले भने। उनले यो कुरा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अनुसन्धानलाई जनाउँदै भनेका हुन्।

पछि उनले थपे, “म त्यो ‘रुस, रुस, रुस’ झुटो आरोप हुँदाहुँदै पनि पुटिनसँग धेरै राम्रोसँग मिल्थें। त्यो पूरै झुटो आरोप थियो।”

प्रतिक्रिया