फ्लोरिडामा जेलेंस्कीसँग निर्णायक वार्ता अघि राष्ट्रपति डोनाल्ड ट्रम्प–पुटिन दूरवार्ता

इनेप्लिज २०८२ पुष १३ गते १७:३७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसँग फ्लोरिडामा हुने उच्च जोखिमपूर्ण भेटघाट अघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरवार्ता (फोनवार्ता)गरेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, “आज दिउँसो १ बजे राष्ट्रपति जेलेंस्कीसँग भेट हुनु अघि मैले राष्ट्रपति पुटिनसँग राम्रो र अत्यन्त फलदायी दूरवार्ता गरें।” ट्रम्पका अनुसार, जेलेंस्कीसँगको भेट मारो लागोको “मुख्य भोजन कक्ष” मा हुनेछ, जहाँ सञ्चारकर्मीहरू पनि उपस्थित रहनेछन्।

यो दूरवार्ता किभमाथि रुसले क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन )हमला गरिरहेको संवेदनशील समयमा भएको हो। त्यसैले फ्लोरिडामा हुने जेलेंस्की–ट्रम्प वार्तालाई युक्रेन युद्ध र सम्भावित शान्ति प्रयासका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

क्रेमलिनका दूत किरिल डिमीट्रीएभले पनि राष्ट्रपति ट्रम्प र पुटिनबीचको कुराकानीलाई “राम्रो र धेरै फलदायी” भनेका छन्। उनले यो जानकारी एक्समा प्रकाशन गरेका थिए, जुन प्रकाशन ट्रम्प–जेलेंस्की भेटभन्दा एक घण्टाभन्दा कम समयअघि आएको थियो।

यसअघि ट्रम्प र पुटिन अक्टोबर महिनामा अन्तिम पटक कुरा गरेका थिए। त्यसबेला दुवै नेताले हङ्गेरीको बुडापेस्टमा शिखर सम्मेलन गर्ने सहमति गरेका थिए। तर केही दिनमै ट्रम्पले त्यो भेट “समयको बर्बादी” हुने भन्दै रद्ध गरेका थिए।

तस्बिर : कृतिम बुद्धिमत्ता

प्रतिक्रिया