
क्रिसमसपछि अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा भीषण हिउँआँधीले ठूलो समस्या सिर्जना गरेको छ। एबिसीन्यूजका अनुसार यो हिमपातका कारण न्यूयोर्क शहर , न्यू जर्सी र माथिल्लो न्यूयोर्कमा यात्रा अत्यन्तै खतरनाक बनेको छ। मौसमविद्हरूका अनुसार, न्यूयोर्क शहरमा पछिल्ला झन्डै ४ वर्षमै सबैभन्दा धेरै हिउँ पर्ने सम्भावना छ।
यो हिमपातले हवाई यातायातलाई पनि गम्भीर असर पारेको छ। शुक्रबारसम्म १,५०० भन्दा बढी उडान रद्ध भइसकेका छन्। न्यूयोर्क शहरका तीनवटै विमानस्थल र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थिति गम्भीर बन्दै गएपछि न्यूयोर्क र न्यू जर्सी राज्यमा आपतकाल घोषणा गरिएको छ। न्यूयोर्ककी गभर्नर क्याथी होचुलले नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेकी छन्।

शुक्रबार साँझदेखि त्रि–राज्य क्षेत्र (तीन राज्य जोडिएको क्षेत्र)न्यूयोर्क,न्यू जर्सी र कनेक्टिकट क्षेत्रमा भारी हिमपात सुरु भएको छ। न्यूयोर्क शहरमा करिब ७ इन्च हिउँ पर्ने अनुमान छ। नगर प्रमुख एरिक एडम्सले यसलाई “महत्त्वपूर्ण हिमपात घटना” भन्दै सडक सफा गर्न यन्त्र तयारी अवस्थामा राखिएको बताएका छन्।
पेन्सिल्भेनियामा बरफसहितको वर्षा हुँदा सडक चिप्लो बनेको छ। पश्चिमी भागमा विद्युत अवरुद्ध र रूख ढल्ने खतरा पनि रहेको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया