९० प्रतिशत तयार भयो शान्ति योजना: ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा आइतबार निर्णायक वार्ता हुँदै

इनेप्लिज २०८२ पुष ११ गते १५:१३ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै सप्ताहान्तमा आइतवार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने घोषणा गरेका छन्। 

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले आइतबार हुने वार्तामा युक्रेनको सुरक्षा प्रत्याभूती(ग्यारेन्टी)का विषयमा छलफल हुने जानकारी दिए। उनले हाल छलफलमा रहेको २०-बुँदे योजना करिब ९० प्रतिशत तयार भइसकेको समेत खुलाए।

यस वार्तामा सुरक्षाका साथै ‘आर्थिक सम्झौता’ र ‘क्षेत्रीय अखण्डता’ का विषयमा पनि छलफल हुनेछ। 

जेलेन्स्कीले यी विषयमा अन्तिम निर्णय हुनेमा भने अहिल्यै सुनिश्चितता नरहेको बताए। उनले यो प्रक्रियामा युरोपेली राष्ट्रहरूको संलग्नता आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा अमेरिका, युक्रेन र युरोप सम्मिलित साझा संयन्त्र बन्नेमा आशा व्यक्त गरे।

यो भेटघाट झण्डै चार वर्षदेखि जारी रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले चालेको तीव्र कुटनीतिक प्रयासको पछिल्लो कडी हो। 

यसअघि बिहीबार मात्रै जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सकारात्मक कुराकानी भएको बताए ।

प्रतिक्रिया