अमेरिकाको अर्कान्सस राज्यका महाभाग्यशाली व्यक्तिले जिते १.८१७ बिलियन डलरको चिठ्ठा

इनेप्लिज २०८२ पुष १० गते ११:२८ मा प्रकाशित

अमेरिकाको अर्कान्सस राज्यमा एक जना अपत्यारिलो महाभाग्यमानी व्यक्तिले इतिहासकै दोस्रो ठूलो ‘पावरबल’ चिठ्ठा जितेका छन्। क्रिसमसको अघिल्लो रात अर्थात् पूर्वसन्ध्या(क्रिसमस इभ)मा भएको गोलाप्रथामा ती व्यक्तिले १.८१७ बिलियन डलर को विशाल राशी जितेका हुन्। नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम करिब २ खर्ब ४१ अर्ब रुपैयाँ भन्दा धेरै हुन आउँछ।

बुधबार राती निकालिएको गोलाप्रथामा ४, २५, ३१, ५२, ५९ अङ्कका सेता गोला(बल)हरू र १९ अङ्कको रातो ‘पावरबल’ निकालिएको थियो। यो चिट्ठा जित्नका लागि एउटै टिकटमा यी सबै ६ वटा अङ्क मिल्नुपर्छ। यसपटक अर्कान्ससमा बेचिएको एउटा मात्र टिकटमा यी सबै अंकरहरू मिलेका छन्।

विजेतासँग पुरस्कार लिने दुईवटा विकल्प हुन्छन्। पहिलो, उनले सबै पैसा एकैपटक लिन सक्छन्, जसमा करिब ८३४.९ लाख डलर नगद हात पर्छ। दोस्रो विकल्पमा, उनले ३० वर्षसम्म वार्षिक रूपमा पैसा लिन सक्छन्, जसमा हरेक वर्ष ५ प्रतिशतले रकम बढ्दै जान्छ। तर, यी दुवै रकमबाट सरकारलाई कर तिर्नुपर्ने हुन्छ।

सन् १९९२ देखि सुरु भएको पावरबल चिठ्ठामा क्रिसमसको अवसरमा यस्तो ठूलो पुरस्कार पर्नु निकै दुर्लभ मानिन्छ। यसअघि सन् २०११ मा मात्र क्रिसमसको अघिल्लो रात यस्तो पुरस्कार परेको थियो। सन् २०२२ मा क्यालिफोर्नियाका एक व्यक्तिले २.०४ अर्ब डलर जितेका थिए, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो। अहिलेको यो जित दोस्रो ठूलो हो।

यो चिठ्ठा जित्नु भनेको असम्भव जस्तै कुरा हो। पावरबलका अनुसार यो चिठ्ठा जित्ने सम्भावना २९ करोड २० लाख मान्छेमा १ जना लाई मात्र हुन्छ। अचम्मको कुरा के छ भने पछिल्लो १० वर्षमा चिठ्ठाको रकम बढ्दै गएको छ तर जित्ने सम्भावना भने झन्-झन् कम हुँदै गइरहेको छ।

अमेरिकाका ४५ वटा राज्यहरूमा बिक्री गरिने यस टिकटको मूल्य मात्र २ डलर पर्छ। हप्ताको तीन पटक (सोमबार, बुधबार र शनिबार) यसको गोलाप्रथा गरिन्छ। यसपटक लगातार ४७ पटकसम्म कसैलाई चिठ्ठा नपरेपछि रकम थपिँदै गएर यति ठूलो पुगेको थियो।

यो चिट्ठा अमेरिकाका ४५ राज्य वासिङ्टन डी.सी., पुर्टो रिको र यूएस भर्जिन आइल्याण्ड्समा बिक्री हुन्छ।

तस्बिरहरु : कृतिम बुद्धिमत्ता जेमिनाइ एआइ

प्रतिक्रिया