अदालतको कडा आदेश — एल साल्भाडोर जेल पठाइएका भेनेजुएलालीलाई सुनुवाइ वा अमेरिका फिर्ता गर्नू

इनेप्लिज २०८२ पुष ८ गते १२:२६ मा प्रकाशित

अमेरिकी एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई दुई हप्ताभित्र स्पष्ट योजना पेश गर्न आदेश दिएका छन् जस अनुसार एल साल्भाडोरको कुख्यात कारागारमा पठाइएका भेनेजुएलाका १३७ जना पुरुषलाई अमेरिका फिर्ता ल्याइने वा उनीहरूलाई आरोपविरुद्ध सुनुवाइको अवसर दिइने छ।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश जेम्स बोआसबर्गले यी भेनेजुएलालीहरूलाई संवैधानिक ‘ड्यु प्रोसेस’ अर्थात् कानुनी प्रक्रिया अधिकार नदिइएको ठहर गरेका हुन्। सन् १७९८ को बिदेशी शत्रु ऐन प्रयोग गरेर ट्रम्प प्रशासनले उनीहरूलाई गिरोह सदस्य भएको आरोपमा एल साल्भाडोरको कुख्यात सिकट कारागार पठाएको थियो।

न्यायाधीश बोआसबर्गका अनुसार, यी पुरुषहरू एल साल्भाडोरमा थुनिँदा पनि कानुनी रूपमा अमेरिकी नियन्त्रणमै थिए, किनकि उनीहरूलाई अमेरिकाको अनुरोधमा जेल राखिएको थियो । सिबिएसन्यूजका अनुसार त्यसको खर्च पनि अमेरिकाले नै तिरेको थियो। त्यसैले उनीहरूलाई *आफूमाथि लगाइएका आरोप चुनौती दिने मौका दिनु अनिवार्य भएको अदालतले स्पष्ट गरेको छ।

मार्च महिनामा २०० भन्दा बढी भेनेजुएलालीहरू एल साल्भाडोर पठाइएका थिए। तीमध्ये धेरैलाई अपराधी, आतंकवादी र खतरनाक ग्याङ सदस्य भनेर चित्रण गरिएको थियो। तर सिबिएस न्यूजको अनुसन्धान अनुसार धेरैजसो व्यक्तिको अमेरिका वा अन्यत्र कुनै आपराधिक इतिहास नै थिएन।

यद्यपि यस गर्मीयाममा ती सबैलाई कैदी साटासाट सम्झौता अन्तर्गत भेनेजुएला फिर्ता पठाइएको छ, अदालतले अझै पनि उनीहरूको अधिकार उल्लंघन भएको ठहर गरेको छ।

यसैबीच मानव अधिकारवादी निकायले सार्वजनिक गरेको प्रतिवेदनमा सि कट (सिइसिओटी )जेलमा थुनिएका भेनेजुएलालीहरूलाई मनपरी थुनुवा, जबरजस्ती हराइने, निरन्तर कुटपिट, यौन दुर्व्यवहारसहित गम्भीर यातना दिइएको निष्कर्ष निकालेको छ।

यो फैसला आप्रवासी अधिकार, कानुनी प्रक्रिया र मानवअधिकारको पक्षमा ऐतिहासिक कदम मानिएको छ ।

प्रतिक्रिया