
अमेरिकाको एक संघीय अदालतले इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसिई ) अर्थात् अध्यागमन तथा भन्सार प्रवर्तनलाई क्रिसमस बिदासम्म किलमार अब्रेगो गार्सियालाई फेरि पक्राउ गर्न नपाइने आदेश दिएको छ।
यो आदेश सोमबार मेरील्यान्डकी संघीय न्यायाधीश पाउला जिनिसले दिएकी हुन्।
एल साल्भाडोरका नागरिक किलमार अब्रेगो गार्सिया डिसेम्बर ११ मा हिरासतबाट रिहा भएका थिए। न्यायाधीशले सरकारले उनलाई कानुनी अधिकार बिना नै थुनेको ठहर गरेकी थिइन्। सन् २०१९ मा अदालतले उनलाई एल साल्भाडोर फिर्ता पठाउन नपाइने आदेश दिएको थियो, किनकि उनलाई त्यहाँ उत्पीडनको डर थियो।
सरकारले पछि उनको फाइलमा “गल्तीले छुटेको” भन्दै देश निकाला आदेश थपेको दाबी गर्यो। तर न्यायाधीश जिनिसले सरकारलाई कडा प्रश्न गर्दै भनिन्— “के गर्न चाहनु भएको हो, प्रमाणसहित देखाउनुस्।”
एबिसीन्यूजका अनुसार अब सरकारले डिसेम्बर २६ भित्र आफ्नो लिखित तथ्य बुझाउनुपर्छ। त्यसपछि गार्सियाको पक्षले डिसेम्बर ३० मा जवाफ दिनेछ।
गार्सियाका वकिलका अनुसार परिवार गहिरो तनावमा छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनलाई एमएस-१३ गिरोहको सदस्य भनेको थियो, तर गार्सियाले अस्वीकार गरेका छन्। उनीमाथि टेनेसीमा मानव तस्करीको मुद्दाचल्दैछ, जसमा उनले आफू निर्दोष भएको बताएका छन्।
प्रतिक्रिया