
नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र(एनइसीसी)ले आफ्नो पच्चिसौं बार्षिक उत्सब विविध कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न गरेको छ । दर्जनौं स्वयमसेवकहरुलाई विभिन्न मान सम्मान प्रमाणपत्र प्रदान गर्दै सम्पन्न उक्त रजत जयन्ती समारोहमा संस्थापकहरुले आफ्ना भावनाहरु यो संस्थासँग गाँसिएकोले जीवनभर यसलाई साथ र सहयोेग गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । यी मध्येका एक डा.श्याम कार्कीले आफू नब्बे बर्ष पुगेका दिन दश लाख डलरकोे चेक ल्याएर दान दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

संस्थाले सम्पूर्ण दाताहरुलाई यस अवसरमा स्वागत र सम्मान गरेको थियो ।
एनइसीसीको रजत महोत्सब
संस्थाले यो पच्चिस बर्षमा मेरील्याण्डको ल्यान्हममा रहेको आफ्नो घर र जमिन बेचेर मेरिल्याण्डकै विल्सभिलमा जमिन खरिद गरी भागवत पुराणलगायत धार्मिक अनुष्ठान सम्पन्न गरेको थियो । यहि स्थानमा दश फीट अग्लो भगवान बुद्धको प्रतिमालाई पोडियम बनाई प्रतिस्थापन गरेको थियो । यो २५ बर्षमा संस्थाले नेपाली मन्दिर बनाइ पूजा अर्चना गर्ने र नेपाली समुदायलाई आफ्ना संस्कारहरुका लागि नभइ नहुने पुरोहित सेवा पनि उपलब्ध गराएको थियो । यस्ता धार्मिक कार्यक्रमहरुमा निसर्त स्वयम सेवा गर्ने सम्पूर्ण स्वयमसेवीलाई पनि स्वागत र सम्मान गरेको थियो ।

यस्तै संस्थाले सन २०१४ देखि प्रत्येक बर्ष यम पंचकमा आयोजना गरिने द्यौसी भैलो कार्यक्रम आयोजना गरी चन्दा दान पनि संकलन गरेको थियो । यो अवधिमा द्यौसी भैलोेको दानबाट मात्र करिब पाँच लाख डलर संकलन भएको आजको कार्यक्रममा लेखाको अभिलेख राख्ने समूहले जानकारी गराएकोे थियो । आजको कार्यक्रममा पनि छोटो द्यौसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो । यो अवधिमा संस्थाका आफ्ना गतिविधि र नेपाली संस्कृतिको बारेमा समुदायका दोश्रो पुस्तालाई जानकारी गराउन नियमित न्युज बुलेटिन प्रकाशित गरेको थियो । यसको साथै एनइसीसीले आफ्ना सबै अभिलेखहरुलाई अध्यावधिक गर्ने नमस्ते नामको एक जर्नल पनि प्रकाशित गर्ने गरेको छ । यस बर्ष नमस्तेको रजत अंक पनि प्रकाशित गरेको छ । यसमा संस्थाको २५ बर्षका आर्थिक,सामाजिक,संगठन र भौतिक पूर्वाधार विकासकोे क्रमलाई शिलशिलेवार ढंगले आलेखहरु प्रकाशित गरिएको छ । यसबाट समुदाय निक्कै लाभान्वित हुने देखिएको छ । एनइसीसीले यस रजत जयन्तीको अवसरमा विभिन्न विभाग बनाएर निरन्तर सेवा गरिरहेका समुदायका अगुवाहरुलाई स्वागत र सम्मान गरेको थियो ।

संस्थाले दोश्रो पुस्तालाई नेपाली भाषाको ज्ञान र संस्कार एवम संस्कृतिको जानकारी दिने उद्देश्यले नेपाली भाषा पाठशाला स्थापना र सञ्चालन गर्दै आएको छ । आजको कार्यक्रममा नेपाली पाठशालाका बालबालिकाहरुले नेपाली भाषाको साँगितिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । हाल पाठशालामा एक सय सतहत्तर जनासम्म बालबालका रजिष्टर भएको जानकारी दिइएको थियो । यस अवसरमा पाठशालाका शिक्षक शिक्षिका र स्वयमसेवक अभिभावकहरु पनि सम्मानित भएका थिए ।

एनइसीसीले हरेक बर्ष मैथिली र भोजपुरी समुदायले आफ्नो प्रमुख धार्मिक साँस्कृतिक पर्व छठ पूजाको पनि आयोजना गर्दै आएको छ । यसमा मेरिल्याण्ड र भर्जिनिया राज्यमा बसोबास गर्ने मधेशी समुदाय र यस प्रति आस्था राख्ने पहाडी समुदायले पनि छठ पूजामा सहभागिता जनाउने गरेको छ । यसै गरी नेपाली मन्दिर भनेर चिनिने एनइसीसीको यस प्रांगणमा ८ फीट अग्लो भगवान शिवको प्रतिमा पनि प्रतिस्थापित छ । केही बर्ष यता आफ्नो प्रांगण परिसरमा हरितालिका तिजको सामुहिक पूजा पनि आयोजना गरिदै आएको छ । जसबाट हजारांैको संख्यामा धार्मिक आस्था राख्ने चेलीहरुले भजन किर्तन गर्ने र पूजा अर्चना गर्ने अवसर पाएका छन ।

एनइसीसीको स्थापना सन २००० को सेप्टेम्बर ३० का दिन भएको थियो । समुदायका अधिकांश सदस्यले अनुकुल समयमा कार्यक्रम आयोजना गर्न सुझाव गरे अनुसार यस बर्षको नोभेम्बर १५मा संस्थाको रजत जयन्ती मनाइएको आयोजकहरुको भनाई थियो ।

एएनए अध्यक्ष खगेन्द्र अधिकारीले समारोहलाई सम्बोधन गर्दै नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) को पच्चिसौं बार्षिक उत्सब कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो।
आजको कार्यक्रमकोे उद्घाटन संस्थापक तथा बरिष्ठ सदस्यहरुले संयुक्त रुपमा गर्नु भएको थियो । बयोबृद्ध संस्थापक डा. हरि शर्मा मुडवरीले आफ्नो शुभकामना सन्देशमा आफ्नो पींढीले जुन सपना देखेको थियो त्यो एनइसीसीको माध्यामबाट क्रमश पूरा हुदै गएको र आउदा दिनहरुमा नेपाली भाषा सँस्कृति मूल्य मान्यताको संरक्षण र हस्तान्तरण गर्दै जन्मभूमि र कर्मभूमिको सेवामा निरन्तर लागि रहने समुदायको प्रत्येक सदस्यबाट अपेक्षा गरिएको विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम पछि एनइसीसी बोर्ड अफ ट्रष्टीका अध्यक्ष खिलेन्द्रमणि न्यौपानेले यो संस्था मात्र मेरिल्याण्ड वरपरको नभएर सिंगो डायस्पोराको केन्द्र र एकताकोे प्रतीक भएको बताउनु भएको छ । पुराना र नयाँँ सम्पूर्ण स्वयमसेवकको अथक प्रयास पछि एनइसीसीको परिसरमा अबको दुई बर्षमा भगवान बुद्ध र भगवान शिवलाई आकर्षक पोडियममा राखिने छ अनि एक आकर्षक प्रेक्षालय(सामुदायिक भवन) र आफ्नै पाठशाला भवन, आकर्षक उद्यान र पर्याप्त पार्किंग लट बनाउने सपना अवश्य पूरा हुने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै कार्यसमितिका अध्यक्ष्य डा.प्रज्वल रेग्मीले एनइसीसीले पुरानो पुस्ता र नयाँ पुस्ता बीचको सेतुको काम गरिरहेको बताउदै पाठशाला एउटा उदाहरण भएको दृष्टान्त प्रस्तुत गर्नु भयो । उहाँले आफूलाई यहाँ सम्म आउन सहयोग पुर्याउने र आगामी दिनमा लक्ष्य प्राप्तिको प्रतिबद्धता पूरा गर्न सहयोग पुर्याउने सम्पूर्ण प्रति आभार व्यक्त गर्नु भएको थियो । निरन्तर साथ सहयोगको अपेक्षा पनि गर्नु भएको थियो । उहाँले अग्रजरुको आकाँक्षा अनुसार आगामी २५ बर्षका लागि मार्ग चित्र बनाउदै गएको बताउनुभएको थियो । मार्गचित्रका आधारहरु प्रस्तुत गर्दै उहाँले समुदायमा सबै उमेर समूह, विभिन्न पेशा व्याबसायको एकता, विविध जात धर्म र सप्रदायलाई सहभागी गराउने समाबेशी कार्यक्रम, आफ्नो पदीय जिम्मेवारीप्रति इमानदार सदस्यहरुको छनोट र निस्वार्थ अनि प्रतिबद्ध दाताहरुलाई उच्च सम्मान गर्ने रणनीति उक्त रोडम्यापमा रहने डा.रेग्मीले जानकारी गराउनु भएको थियो । कार्यक्रम मेरिल्याण्डको जर्मनटाउनस्थित एक हाइस्कुलको प्रेक्षालयमा भएको थियो । कार्यक्रममा पुरानो पुस्ताका राम मालाकार,कृष्ण निरौलालगायतको उपस्थिति थियो । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

म सम्पूर्ण समुदायका अग्रज, एनईसीसीका पूर्व अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद भन्न चाहान्छु । शैक्षिक,सांस्कृतिक सामाजिक, धार्मिक र अरु विविध सम्बन्ध बढाउदै लैजान ४० बर्ष अघि यो संस्थाको परिकल्पना गरिएको र अहिले सन्तोषजनक प्रगति भईरहेको देखेर खुसी लागेको छ । संस्थालाई आज पनि म पाँच हजार डलर दान सहयोग दिदैछु ।
–डा.हरि शर्मा मुडवरी
के सी डान्स सेन्टरका बिधार्थीहरु द्वारा आकर्षक नृत्य पनि कार्यक्रममा समावेस थियो ।

तस्बिर :राजिब श्रेष्ठ
प्रतिक्रिया