दुबई । मगर समुदायमा भूमे पूजा एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परा हो । जस्ले प्रकति, पृथ्वी र पित्रीप्र्रति सम्मानका साथ आभार प्रकट गर्दछ । यो पूजा मगरहरुको मौलिक धर्म, परम्परा र पहिचानसंग गहिरो रुपमा जोडिएको छ । मगरहरु परम्परागत रुपमा प्राकतिक पूजक हुन् । प्रकतिलाई आमा सरह मान्दछन् । जसअनुसार अन्न, जल, बास्थान र जीवन दिन्छ । भूमि पूजा गरेर पृथ्वी आमालाई धन्यबाद दिदै शुद्ध गर्ने र आर्सिबाद माग्ने पूर्खादेखि चलनमा रहेको देखिन्छ । नयां खेती पाती सुरु गर्नुअघि वा बर्षेनी एक पटक भूमिलाई पूजा गरेर यो बर्षको बाली राम्रो होस् र अनिकाल नलागोस् भनेर कामना गरिने प्रचलन समेत रहेको पाईन्छ ।
सोही परम्परालाई कायम राख्दै गएको २१ जुन शनिबारका दिन युएईको अलऐनस्थित कुईतात लुलु हाईपर मार्केटको हलमा नेपाल मगर संघ शाखा युएईको अलऐन क्षेत्रीय समितिले विविध सांगीतिक माहौलमा भूमे पर्व भव्य रुपमा सम्पन्न गरेको छ । उक्त पर्व विधिवत पूजाआजासंगै मगरहरुको खानपान र रमाईलो नाचगान गरेर भएको हो ।
कार्यक्रमको थालनी प्रमुख अतिथि, सभाध्यक्ष र अतिथिहरुको दीप प्रज्योलनका साथ भएको थियो । जस्मा नेपाली र युएईको राष्ट्रिगान लगत्तै अलऐन क्षेत्रीय समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बसन्त राकसकोटी मगरको शुभकामना मन्तव्य रहेको थियो ।
सन् २००५ मा स्थापना भएको नेपाल मगर संघ शाखा युएईले विगत २० बर्षदेखि युएईस्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै मगर समुदायको प्रतिनिधित्व गरिरहेको पाईन्छ । साथै मौलिक खानपान, भेष भूसा र भाषालाई उत्थान गरेको सहजै भेटिन्छ । खासगरी मगरहरुको प्रसिद्ध नाच जस्तै सोह्रठी, करुवा र झ्याउरे नाचलाई बिदेशको भूमिमा पनि उजागर भएको प्रत्येक्ष देख्न सकिन्छ । अझै मगरहरुको पुरख्याउली नाचगानलाई जर्गेना गर्नमा मगर संघकै सहकार्य संस्था लाङ्घाली संगीत संसार युएईको अहम भूमिका रहेको देखिन्छ ।
कार्यक्रमको मुख्य आकर्षण मौलिक पंञ्चेबाजासंगै मगरहरुको संस्कृति झल्काउने खालका सेलरोटी, बारा (बटुक) अचार र गेडागुडीको स्वादहरु चाख्न मौका पाएको थियो । चारैतिर सबैजनालाई मगर पोशाकले सजिएको देख्न सकिन्थ्यो । स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिमा धेरै जसो मगरहरुको मौलिक नृत्यहरु जोडिएको थियो । जस्ले गर्दा सुनमा सुगन्ध थपिदिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल मगर संघ शाखा युएईका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बिष्णु राना मगर रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ शाखा युएईको अलऐन क्षेत्रीय समितिका अध्यक्ष ठाकुर क्यापछाकी मगरले गर्नुभएको थियो । दुई चरणमा विभाजित कार्यक्रमको औपचारिक कार्यक्रमलाई सह–सचिव तथा उप–संयोजक लक्ष्मण पुन मगरले संचालन गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमलाई सदस्य गुरांस थापा मगरले संचालन गर्नुभएको थियो ।
प्रतिक्रिया