ईरानका सशस्त्र सेनाका प्रमुख उपरथी अब्दुलरहीम मौसवीले अमेरिका विरुद्ध कडा चेतावनी दिएका छन्। ईरानको सरकारी संचार माध्यममा प्रकाशित वक्तव्यमा उनले भने, “अपराधी अमेरिका”ले इस्लामिक सेनाका योद्धाहरूलाई प्रतिकारको ढोका खोलिदिएको छ, र यस मामिलामा हामी कहिल्यै पछि हट्ने छैनौं।”
मौसवीका अनुसार, अमेरिकी हमलाले “इस्लामिक ईरानको सार्वभौमिकता उल्लङ्घन गर्दै हाम्रो पवित्र भूमिमा हस्तक्षेप” गरेको हो, जसलाई उनीहरुले प्रत्यक्ष युद्धको रूपमा लिएका छन्।
सिएनएनका अनुसार सोमबार उच्च सेनानीहरूले जारी गरेको श्रृंखलाबद्ध चेतावनीहरूमा यो पनि समावेश छ। तर, हालसम्म सर्वोच्च नेता आयतोल्ला खामेनेईको प्रतिक्रिया आइसकेको छैन।
सशस्त्र सेनाको केन्द्रीय समितिका प्रवक्ता इब्राहिम जोलफक़ारीले भने, “हामी शक्तिशाली र लक्षित कारबाहीमार्फत यस्तो जवाफ दिनेछौं, जसको परिणाम अमेरिका पछुताउनेछ।”
राज्य सञ्चालित संचार माध्यम प्रसारित श्रब्यदृश्य (भिडियो)मा जोलफक़ारीले चेतावनी दिँदै भने, “यो आक्रमण केवल व्यर्थ मात्र थिएन, यसले ईरानका लागि वैध र विविध निशानाहरूको दायरा फराकिलो बनाइदिएको छ।”
अन्तमा अंग्रेजीमा उनले भने, “”जुवाडे ट्रम्प, तिमीले यो युद्ध सुरु गर्न सक्छौ, तर यसको अन्त्य हामी गर्छौं।”
प्रतिक्रिया