रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुरा गर्ने कुनै योजना नरहेको क्रेमलिनले आइतबार जनाएको छ। यो भनाइ अमेरिकाले इरानका आणविक स्थलहरूमा गरेको हमलापछि आएको हो। यद्यपि, क्रेमलिनले आवश्यक परे छिट्टै दूरवाणी (टेलिफोन )वार्ता मिलाउन सकिने राज्य समाचार एजेन्सी तासलाई बताएको छ।
रुस र इरानले गत जनवरीमा “व्यापक साझेदारी सम्झौता” मा हस्ताक्षर गरेका थिए, जसले उनीहरूको घनिष्ठ रणनीतिक गठबन्धनलाई थप सुदृढ पारेको छ। तर, यो सम्झौतामा एक अर्कालाई आक्रमण भएको खण्डमा रक्षाका लागि आउनुपर्ने प्रावधान भने उल्लेख छैन।
यसैबीच, बिहीबार भएको दूरवार्तामा पुटिन र चिनियाँ नेता सी जिनपिङले इजरायलले इरानमाथि गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए। क्रेमलिन र चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको छ।
सिएनएनका अनुसार यद्यपि विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाको नाम उल्लेख गरिएको थिएन, तर सीले ट्रम्पलाई अप्रत्यक्ष सन्देश दिँदै “द्वन्द्वका पक्षहरूमा विशेष प्रभाव पार्ने ‘महाशक्तिहरू’ ले स्थितिलाई उत्तेजित पार्नुको सट्टा सामान्य बनाउन काम गर्नुपर्छ” भनी जोड दिएका थिए।
प्रतिक्रिया