अमेरिकी हमलापछि इरानले इजरायलमा क्षेप्यास्त्र( मिसाइल )प्रहार गरेको छ। आइतबार बिहानै अमेरिकाले इरानका फोर्डो, नतान्ज र इस्फाहान लगायतका महत्त्वपूर्ण आणविक केन्द्रहरूमा आक्रमण गरेपछि यी हमलाहरू भएका हुन्। अमेरिकी आक्रमणपछि इजरायली सेनाले इरानले इजरायलतर्फ नयाँ लहरका क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको छ।
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी हमलापछि इरानलाई वार्ताको टेबुलमा फर्कन आग्रह गरेका छन्। उनले इरानको आणविक कार्यक्रमलाई “अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा” भन्दै “इरानलाई आणविक हतियार विकास गर्न कदापि दिनु हुँदैन ।
अमेरिकाले त्यो खतरा कम गर्न कारबाही गरेको छ” भनेका छन्। उनले इरानलाई कूटनीतिक समाधानका लागि वार्तामा फर्कन आह्वान गरेका छन्।
यता, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकाले आफ्ना आणविक स्थलहरूमा हमला गरेर “इरानविरुद्ध खतरनाक युद्ध” सुरु गरेको र यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएको छ।
साथै तेल अभिभको उत्तरी भागमा एउटा इरानी प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)ले तीन वा चारतले आवासगृह (अपार्टमेन्ट )भवनमा ठूलो प्वाल पारेको छ।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकाले आणविक केन्द्रमा हमला गरेर कूटनीतिलाई ध्वस्त पारेको आरोप लगाएका छन्। उनले गत हप्ता अमेरिकासँग वार्ता भइरहेका बेला इजरायलले कूटनीतिलाई ध्वस्त बनाएको र यस हप्ता युरोपेली मन्त्रीहरूसँग वार्ता भइरहेका बेला अमेरिकाले कूटनीतिलाई “बिगारेको” बताए। उनले बेलायत र युरोपेली संघलाई “इरानले कहिल्यै नछोडेको वा नबिगारेको कुरामा कसरी फर्कन सक्छ?” भन्दै प्रश्न गरेका छन्।
प्रतिक्रिया