तेल अभिभमा इरानले गराएको हवाई आक्रमणमा कम्तीमा ८ जना इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। मृतकमध्ये चार बालबालिका रहेको इजरायली विदेश मन्त्रालयले आइतबार बिहान पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार “इरानले सुतिरहेका इजरायली नागरिकहरूलाई नियोजित रूपमा लक्ष्य बनाएको” छ। साथै ३५ जना अझै बेपत्ता रहेको बताइएको छ।
तेल अभिभको बट याम क्षेत्रमा इरानी क्षेप्यास्त्रले प्रहार गरेपछि भवनहरू भत्किएका छन्। इजरायली प्रहरीका अनुसार त्यहाँ “धेरै जनाको मृत्यु र घाइते” भएको पुष्टि भइसकेको छ।
इजरायली विदेश मन्त्रालयले भनेको छ, “इरान निर्दोष नागरिकहरूलाई लक्ष्य बनाउँछ। इजरायल भने संसारकै सबैभन्दा खतरनाक आतंकवादी शासनलाई संसारकै सबैभन्दा खतरनाक हतियार प्राप्त गर्न नदिने प्रयासमा सैन्य र आणविक स्थलहरूलाई मात्र निशाना बनाउँछ।”
यसबीच, इजरायली सेनाले इरानी हतियार उत्पादन केन्द्रहरू नजिकै रहेका नागरिकहरूलाई तुरुन्त हट्न चेतावनी दिएको छ ।
इजरायली वायुसेनाले आइतबार बिहान इरानबाट प्रक्षेपण गरिएका सात मानव रहित यान (ड्रोन)नष्ट गरेको जनाएको छ। साथै तेहरानमा इरानी आणविक परियोजना सम्बन्धी पूर्वाधार र इन्धन ट्याङ्करहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको जानकारी दिएको छ।
यसै क्रममा, इजरायली सेनाले इरानमा रहेका क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरूमा रातभरि आक्रमण गरेको छ भने तेल अभिभमा फेरि चेतावनी दिने घन्टी बज्न थालेका छन्, किनभने इरानबाट थप क्षेप्यास्त्र प्रहार भइरहेका छन् ।
प्रतिक्रिया