बुबाको मुख हेर्ने दिन

सुरेन उप्रेती पाँचथर हाल भिक्टोरिया क्यानडा २०८२ असार १ गते २:२५ मा प्रकाशित

भोली जून १५तारिख २०२५ । जून महिनाको तेश्रो आइतवारलाई उत्तरअमेरिकाको फादर्सडे (बुबाहरूको दिन )का रूपमा मनाइन्छ । उत्तर अमेरिकामा बुबाहरूको पर्व मनाउँन थालेको पनि ११६ बर्ष पुगेको छ । सन १९०९जून १९ तारिकका दिन पहिलो पटक फादर्सडे मनाइएको थियो । अमेरिकाको वासिङ्टन निवासी सोनोरा स्मार्ट डोड नामक एक महिलाले पहिलो पटक शुरू गरेकी थिइन । आमाहरूको दिन भनेर मोदर्सडे भने पहिलै देखि मनाउँदै आएका थिए । सोनोराका बुबा विलियम ज्याक्सन स्मार्टले एकल पिता भएर नै आफ्ना छ जना सन्तानहरूलाई हुर्काएका थिए । उनी सिभिल वारका पूर्व सैनिक पनि थिए । आमाहरूको महन्वका बारेमा चर्चमा चर्चा भएको थियो । सोही समयमा सोनोराले बुबाहरूको सम्मानमा बुबाहरूको दिन अर्थात फादर्डे मनाउनु पर्नेकुरा पाश्चरसँग राखिन् । त्यसपछी जूनको तेश्रो आइतवारलाई बुबाहरूको दिन अर्थात फादर्सडेका रूपमा मनाउने घोषणा भयो । सन १९३८मा न्यूयोर्कका केही व्यवशायीहरूले मनाउन फादर्सडे समितिको स्थापित गरेर पुरूषहरूले लगाउने पोशाक टाइहरू उत्पादन गरेर उपहार स्वरूप दिन शुरू गरे । पटक पटकको प्रयासपछी सन १९७२अप्रिल १४मामात्र राष्ट्रपति रिचर्ड निक्सनले हस्ताक्षर गरी राष्ट्रिय पर्वका रूपमा मनाउने र उक्त दिन बिदादिन शुरू गरे ।

नेपालमा भने हिन्दू सनातन धर्माविलम्विहरूले परापूर्वकाल देखि नै भाद्र कृष्ण औँसी कुशे औँसीका दिन बुवाहरूको मुखहेर्ने दिन भनेर मनाइन्छ । सनातन हिन्दू धर्मावलम्वीहरूले भाद्रमहिनामा पर्ने अमावस्या औँसीको दिन मनाइने बुबाहरूको मुख हेर्ने दिन हो । बुबाहरुको सम्मान गर्ने बिशेष पर्वको रूपमा यस दिनलाई लिइन्छ । हुन त यो दिनमा दिवंगतभएका पितृहरूलाई श्राद्ध र तर्पण गरेर मनाउनेमात्र प्रचलन रहेको पाइन्छ । यो सामाजिक चेतना र शिक्षाले गर्दानै जीवित बाहरुको सम्मान गर्नु पर्छ भन्दै यस दिनले व्यापकता पाएको मानिसहरू बताउँछन् ।

कुशलाई हिन्दूधर्मावलम्वीहरूले पवित्र बस्तुको रूपमा ग्रहण गरेकाछन् । यो एकप्रकारको घाँस हो ।कुशेऔँसीका दिन ब्राम्हणहरूले शास्त्रोक्त बिधिअनुसार मन्त्रोच्वारण गरी यसलाई छेदन गरी जजमानहरूका घरघरमा पुर्याउँछन् । कुशलाई घरमा राख्दामात्र पनि घर पवित्र हुन्छ भन्ने विश्वास गरिन्छ । देवीदेवताहरु र पितृहरु प्रशन्न भएर आशिर्वाद दिन्छन् । घरमा भूतप्रेतहरुको छाँया पर्ने छैन । घरमा सुख र शान्ति कायम हुने छ भन्ने जनविश्वास छ ।

हरेक धार्मिक कार्यहरु, र पितृ तर्पण, श्राद्ध, तीर्थब्रत आदि गर्दा कुशबाट बनाएको विशेषप्रकारको औँठी लगाएर पूजाआजा गर्ने प्रचलन छ । यो पवित्र ‌औँठी धारण नगरी गरेका पुण्यकार्यमा फलप्राप्त हुँदैन भन्ने विश्वास छ ।

कुशे औँसी कहिले देखि मनाउँन थालियो र किन थालियो भन्ने ठ्याक्कै तिथिमितीहरु भने पाँइदैन । कुशे औँसीको बारेमा पाएको किम्वदन्ती भने यस्तो छ । परापूर्वकालमा वृषकर्ण नाम गरेकामानिस थिए । उनका छोराको नाम गोकर्ण थियो । यी दुई बाबुछोराको मेलमिलाप थिएन । प्रायश झगडा भैरहन्थ्यो । बाबुसँग दिक्क भएर एक दिन छोरा गोकर्ण यमपुरी तर्फ लाग्यो । केही समय पछी बाबु वृषकर्णको मृत्यु भयो । बाबुको मृत्यु सँस्कार काजक्रिया पिण्डदान गर्ने कोही पनि भएन । त्यसैले वृषकर्ण प्रेत बनेर यमपुरीमै घुम्न थाले । एक दिन छोरा गोकर्णले प्रेतबनेका बाबुलाई भेट्टायो । प्रेतलाई नचिनेर गोकर्ण त्रसित बन्यो । तर केही समय पछी उसले बुबालाई चिन्यो । गोकर्णले बुबाका नाममा तर्पण र पिण्ड दान गरेर श्राद्ध गर्यो । गोकर्णले श्राद्ध गरेको दिन कुशे औँसी थियो ।

त्यसैबेला देखि यस भाद्रकृष्ण औँसीलाई कुशेऔँसी अथवा बुबाको मुख हेर्ने दिनका रूपमा मनाउन थालियो । काठमाण्डौको पूर्व करिव दस किलोमिटर टाढा बाग्मती नदीको किनारामा गोकर्णेश्वर महादेवको मन्दिर छ । यो मन्दिरको किनारामा बाग्मती नदीमा स्नान गर्ने दान र श्राद्ध गर्ने भक्तजनहरुको घुँइचो हुन्छ । गोकर्णेश्वर महादेवको स्थापना बारेमा पनि रोचक कथा छ।

सत्य युगमा एक पटक महादेव हराएछन् । सबै देवताहरु महादेवको खोजीमा जुटे । ब्रम्हा बिष्णु र इन्द्र पनि महादेवलाई खोज्दै मर्त्यलोकमा आएछन् । खोज्दै जाँदा महादेव त श्लेष्मान्तकवनमा मृगका बथानमा घुमीरहेका रहेछन् । घेराहालेर मृगको सिँगमा समातेछन् । तर सिँग समाते पछी महादेव अन्तर्ध्यान भएर हराएछन् । उनीहरुका हातमा सिँगमात्र आएछ । त्यसै बेला आकाशवाणी भएछ ।“ सिँगहरूलाई तीनै लोकमा स्थापना गरेमा लोककल्याण हुनेछ” भन्ने । त्यस पछी बिष्णुले पातालमा इन्द्रले श्वर्गमा र ब्रम्हाले मर्त्यलोक अथवा पृथ्वीमा स्थापना गरे । ब्रम्हाजीले गोकर्णेश्वरमा स्थापना गरेको हुनाले यसलाई गोकर्णेश्वर महादेव भन्न थालिएको हो ।

कुशे औँसीका दिन आफ्ना जन्मदाता पितालाई मिठा मिष्ठान्न भोजन गराउने । नयाँ बस्त्र पहिर्याएर पुजा गर्ने र आशिर्वाद लिने चलन चलेको छ । बुबा नहुनेहरुले गोकर्ण र विष्णुपादुकामा गएर पुजाआजा गर्ने । पितृको सम्मान र सम्झनामा श्राद्ध गर्ने । ब्राम्हणहरुलाई भोजन गराउने क्रम शरु भएको मानिन्छ । गोकर्णलाई उत्तर गया पनि भनिन्छ । पितृलाई श्वर्ग जानका लागि भारतको प्रशिद्ध नदी गँगा किनारा गयामा गएर श्राद्ध गर्ने प्रचलन पनि छ । गोकर्णलाई गया समान मानिन्छ ।

जन्मदाता पिता सदैव पूज्यनिय र सम्मानित हुनुहुन्छ । सन्तानका सुखका खातिर रगत र पशिना बगाउँछन् । आफ्नो भोक र रहरलाई गाँठोपारेर सन्तानका लागि आफुलाई समर्पित गर्छन् । बारुद र गोलीलाई छाती थापेर युद्धभूमिमा होमिन्छन् । तातोकराई जस्तो बालुवाको देशमा मरुभूमिमा गएर काम गर्छन् । भाषा मिल्दैन सस्कृति मिल्दैन भनेको कुरा बुझिदैन त्यस्तो ठाउँमा गएर ज्यान जोखिममा राखेर काम गर्छन् । यो सबै सन्तानकै लागि त होनी । आफ्ना छोराछोरीले पढुन शिक्षित बनुन् र सरल जीवन बिताउन भन्ने एकमात्र सपना बोकेका बुबाहरूलाई कुशे औँसी २०८२ अर्थात २०२५को बुबाको मुखहेर्ने दिन फादर्सडेको हार्दिक मँगलमय शुभकामना । जीवित बुबाहरूलाई सम्मान गरौँ ।

उहाँहरुलाई सदैव सेवा गरौँ । मृत्यु पश्चातको दान मात्र समाजलाई देखाउने दाँत नबनोस् । जीवित देवताको सेवा गरौँ । यसरी हिन्दूसनातन धर्माविलम्वीहरूले हजारौँ बर्षदेखि मनाउँदै आएको पाइन्छ भने उत्तर अमेरिकाको फोदर्सडेको इतिहास एकसताब्दीको मात्र पाइन्छ । आफ्ना सन्तानको सुखसंबृद्धिका लागि आफुलाई समर्पण गर्ने बुबाहरू । आफूजलेर सन्तानलाई उज्यालो दिने सन्सारभरी छरिएर रहेका सम्पूर्ण बुबाहरूलाई फादर्स डेको हार्दिक शुभकामना । जीवन सुखमय बनोस् । सम्मानपूर्वक बाँच्ने वातावरण बनोस् कामना गर्दछु ।

यो गीत सबै बुबाहरूलाई समर्पण गर्दछु ।

गीतकार:- सुरेन उप्रेती, संगीतकार: सुनिल मास्के, गायक: प्रमोद
खरेल “बाबा मेरो बाबा”

https://www.youtube.com/watch?v=ma7-FOc6z0g

सन्दर्भ सामाग्री: नेपालका प्रमुअ धार्मिक स्थलहरू मधुसूदन पाण्डेय श्रीमती किरण पन्थी पाण्डेय र विकिपिडिया

प्रतिक्रिया