अमेरिकामा ‘चुनावको दिन’ आक्रमणको योजना बनाएको आरोपमा एक अफगान नागरिक दोषी ठहर, ३५ वर्षसम्म जेल सजायको सम्भावना

इनेप्लिज २०८२ जेठ ३२ गते १०:१८ मा प्रकाशित

ओक्लाहोमा शहरका बासिन्दा नासिर अहमद तौहेदीलाई ३५ वर्षसम्मको कारावास सजाय हुन सक्छ।

अमेरिकामा ‘चुनावको दिन’ आक्रमणको योजना बनाएको आरोपमा एक अफगान नागरिक दोषी ठहर भएका छन् ।

अमेरिकाको ओक्लाहोमा राज्यमा रहेका एक अफगान नागरिकले इस्लामिक स्टेट (आईएसआईएस) समूहका लागि अमेरिकामा ‘चुनावको दिन’ आक्रमण गर्ने योजना बनाएको आरोपमा संघीय अदालतमा शुक्रबार आतंकवाद-सम्बन्धित आरोपहरूमा दोषी स्वीकार गरेका छन्।

२७ वर्षीय नासिर अहमद तौहेदीले दुईवटा अपराध स्वीकार गरेका छन्: एक इस्लामिक स्टेट समूहलाई षड्यन्त्र र समर्थन प्रदान गर्ने, र दोश्रो आतंकवादको संघीय अपराध गर्न हतियार प्राप्त गर्ने प्रयास गर्ने। आइएसलाई अमेरिकाले विदेशी आतंकवादी संगठनको रूपमा तोकेको छ।

तौहेदीलाई ३५ वर्षसम्मको कारावास सजाय हुन सक्ने एपीले जनाएको छ ।

“प्रतिवादीले २०२४ को ‘चुनावको दिन’ मा हिंसात्मक आतंकवादी हमला गर्ने योजना बनाएको र त्यसका लागि हतियार प्राप्त गरेको स्वीकार गरेका छन्। यो योजना एफबीआई र हाम्रा साझेदारहरूको राम्रो कामबाट पत्ता लाग्यो र विफल पारियो,” एफबीआईका निर्देशक काश पटेलले एक विज्ञप्तिमा भने।

अदालतका कागजातअनुसार गत वर्ष ओक्लाहोमा शहरमा बस्दा तौहेदीले ठूलो भीडलाई निशाना बनाउनका लागि दुईवटा एके-४७ शैलीका राइफल बन्दुक र ५०० गोलाबारुद (राउन्ड )गोली खरिद गरेका थिए। अधिकारीहरूले बताएअनुसार उनले आफ्नो ज्वाइँ अब्दुल्ला हाजी जादा सहित धेरै व्यक्तिहरूसँग महिनौंसम्म हमलाको योजना बनाएका थिए।

त्यतिबेला १७ वर्षका जादालाई वयस्कका रूपमा मुद्दा चलाइएको थियो र उनले अप्रिलमा दोषी स्वीकार गरेका थिए। उनलाई १५ वर्षसम्मको कारावास सजाय हुन सक्छ।

तौहेदी अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गरेपछि सेप्टेम्बर २०२१ मा विशेष आप्रवासी प्रवेशाज्ञा (भिसा)मा अमेरिका आएका थिए ।

न्याय विभागका अनुसार अक्टोबर ७ मा गिरफ्तारी हुँदा तौहेदीको अध्यागमन स्थिति विचाराधीन रहेको बेला उनी प्यारोल(सशर्त रिहाइ)मा थिए। उनको सशर्त रिहाइ (प्यारोल) स्थिति त्यसपछि रद्द गरिएको छ।

एफबीआईका अनुसार तौहेदी उबर चालक र गाडीका सामान बिक्री गर्ने पसलहरूमा काम गर्थे ।

प्रतिक्रिया