रूसको भीषण हवाई आक्रमणले युक्रेनमा ७ जनाको मृत्यु, ४१ भन्दा बढी घाइते — “रूस एक आतंककारी राष्ट्र हो” : युक्रेन

इनेप्लिज २०८२ जेठ २५ गते ९:३४ मा प्रकाशित

रूसले रातभरि युक्रेनभर व्यापक रूपमा गरेको हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ४१ जना भन्दा बढी घाइते भएका छन्। आक्रमणमा मुख्य रूपमा नागरिक बस्ती र ऊर्जा पूर्वाधारलाई लक्षित गरिएको थियो।

खार्किभ शहरमा मात्र ३ जनाको मृत्यु र २१ जना घाइते भएका छन्, जसमा एक नवजात शिशु र १४ वर्षीया किशोरी पनि छन्। खार्किभ क्षेत्रमा रूसले ४८ वटा मानव रहित यान (ड्रोन) ,५ वटा बम, ४ वटा एमएलआरएस र ३ वटा क्षेप्यास्त्र प्रहार गरेको शनिबार बिहान युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यस्तै खर्सन शहरमा ५६ र ५४ वर्षका दम्पतीको मृत्यु भएको छ र १० जना घाइते भएका छन्। डोनेत्स्क क्षेत्रमा २ जनाको मृत्यु र ८ जना घाइते भएको जनाइएको छ भने सुमी क्षेत्रमा पनि एक व्यक्ति घाइते भएका छन्।

युक्रेनी हवाई सेनाका अनुसार रूसले रातभरमा कुल २१५ वटा प्रक्षेप्यास्त्र प्रहार गरेको थियो जसमा २०६ वटा मानव रहित यान (ड्रोन), २ वटा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल), ६ वटा दिशानिर्देशित बम (गाइडेड बम) र १ समुन्द्री क्षेप्यास्त्र (क्रुज मिसाइल) थिए। तीमध्ये १७४ वटा प्रक्षेप्यास्त्रलाई नष्ट गरिएको छ।

विदेशमन्त्री अन्द्रिय साइबिहाले भने, “रूसले नागरिकहरूमाथि निरन्तर आतंक मच्चाइरहेको छ। अब मस्कोमाथि अझ कडा दबाब र युक्रेनलाई थप सशक्त बनाउने कदमहरू आवश्यक छन्। रूस एक आतंकवादी राष्ट्र हो, र यसले त्यो उपाधि पाउन पर्याप्त कारणहरू दिइसकेको छ।”

प्रतिक्रिया