“ओजार्क्सको शैतान” भनेर चिनिने झ्यालखानाबाट फरार रहेका पूर्व प्रहरी प्रमुख पक्राउ 

इनेप्लिज २०८२ जेठ २४ गते २२:५१ मा प्रकाशित

“ओजार्क्सको शैतान ” भनेर चिनिएका पूर्व प्रहरी प्रमुख तथा दोषी हत्यारा ग्रान्ट हार्डिनलाई अमेरिकाको अर्कान्सस राज्यको उत्तरी पहाडी क्षेत्रमा ठूलो खोज अभियानपछि पक्राउ गरिएको छ। 

उनी जेलबाट भागेपछि २.४ किलोमिटर उत्तरपश्चिममा कानून कार्यान्वयन निकायहरूले उनलाई फेला पारेका हुन्।

इजार्ड काउन्टी शेरीफ कार्यालयले सामाजिक सञ्जालमार्फत जनाएको अनुसार हार्डिनको पहिचान औंठाछापबाट पुष्टि गरिएको हो।

हार्डिन अर्कान्सस र मिजौरीको सीमावर्ती सानो शहर गेटवेमा प्रहरी प्रमुखका रूपमा काम गरेका थिए। उनलाई हत्या र बलात्कारको गम्भीर अभियोगमा लामो समयको कारागार सजाय सुनाइएको थियो।

उनको कथामाथि आधारित ओजार्क्सका शैतान नामक दूरदर्शन वृतचित्र(टेलिभिजन डकुमेन्ट्री)ले  उनीप्रति व्यापक चासो जगाएको थियो।

उनको कारागारबाट भागेको समाचार सार्वजनिक भएपछि व्यापक खोजी अभियान चलाइएको थियो। बिभिन्न पत्रपत्रिकाका अनुसार सुरक्षाकर्मीहरूले उनको फेला परिएको स्थान तत्काल घेराबन्दी गरी उनलाई नियन्त्रणमा लिएका हुन्।

अधिकारिहरूका अनुसार हार्डिनलाई थप सुरक्षा सर्तसहित पुनः कारागारमा पठाइएको छ र घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया