अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा बिहीबार राति भएको हृदयविदारक घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। एक नेपाली परिवारका चार सदस्यहरु दुई वयस्क र दुई नाबालक छोरा र छोरी आफ्नै घरमा मृत भेटिएपछि प्रहरी हत्या–आत्महत्याको आशंकामा अनुसन्धानमा जुटेको छ।
मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार ,३६ वर्षीया अन्जु श्रेष्ठ ,८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्। उनीहरू सबैको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा एकथान बन्दुक पनि फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार राति १०:४० बजे घरमा कोही होशमा नरहेको जानकारी पछि कल्याणकारी जाँच (वेलफेयर चेक)को लागि प्रहरी अधिकारीहरू त्यहाँ आएका थिए। प्रहरी भुइँतलाको कोठाहरुमा प्रवेश गर्दा त्यहाँ चार शवहरू भेटिएका थिए ।
छिमेकीहरूले डिसी क्षेत्रको चर्चित स्थानिय समाचार न्यूज४ (फोर)लाई बताएका अनुसार पीडित परिवार छ महिना अघि नेपालबाट आई त्यहाँ बस्दै आएका थिए। छिमेकीहरुका अनुसार उनीहरूलाई मिलनसार र शान्त परिवारका रूपमा चिनिन्थ्यो।
उला ब्राउन नाम की महिला जो सोही टोलमा बस्छिन्, र ,उनले भनिन् “हामीलाई कहिल्यै थाहा हुँदैन, बन्द ढोकामुनि के भइरहेका छन्। यो घटना नपत्याउने र पीडादायी छ।” उनले टोललाई “सुरक्षित” मानेको बताउँदै घटना अप्रत्याशित भएको जनाइन्।
अर्का छिमेकी मुस्तफा मुसाफरजादा बिगत चार वर्षदेखि त्यहीँ बस्दै आएका छन् ,उनले भने , “रातभरि निन्द्रा लागेन, के भयो भनेर अत्तालियौं। त्यो परिवार असल लाग्थ्यो।”
मृतक ८ वर्षीया बालिका मनासस पार्क सिटी स्कुलमा अध्ययनरत थिइन्। विद्यालयले भावुक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ। पीडित विद्यार्थीका सहपाठी तथा शिक्षकलाई मानसिक सहयोग उपलब्ध गराउने तयारी गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले केयर सोलेस नामक संस्थासँग मिलेर अभिभावक, कर्मचारी र विद्यार्थीका लागि २४/७ मानसिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। प्रहरी अनुसन्धान जारी छ। शवहरू मनासस चिकित्सा परीक्षक कार्यालयमा पठाइएको छ।
यो त्रासदीले सम्पूर्ण नेपाली समुदाय, अमेरिकी समाज र स्थानीय बासिन्दालाई गहिरो शोकमा डुबाएको छ। ममता काफ्लेको घर र घटना स्थल केवल ३ मिनेटको मात्र पैदल दूरी गुगल नक्साले देखाउछ । ममता काफ्लेको सुनुवाई आगामी अगस्त महिनाको पहिलो सप्ताहमा सुरु हुनेछ ।
प्रतिक्रिया