राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अमेरिकी प्रवेशाज्ञा (भिसा )निलम्बन गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसले बुधबार यो जानकारी दिएको हो।
यस घोषणाले अधिकांश नयाँ हार्वर्ड विद्यार्थीहरूलाई एफ,एम र जे श्रेणीका प्रवेशाज्ञा (भिसा)मार्फत अमेरिका प्रवेश गर्न रोक लगाउँछ — जुन प्रवेशाज्ञा (भिसा)हरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययन वा शैक्षिक विनिमय कार्यक्रममा भाग लिन प्रयोग गर्छन्। साथै, वर्तमान हार्वर्ड विद्यार्थीहरूमध्ये घोषणामा उल्लेखित “मापदण्ड” पूरा गर्नेहरूको प्रवेशाज्ञा (भिसा )खारेज गर्न राज्य सचिवलाई निर्देशन दिइएको छ।
ह्वाइट हाउसका अनुसार यो कदम , हार्वर्डमाथि “चिन्ताजनक विदेशी सम्बन्ध” भएको आरोप लगाउँदै “राष्ट्रिय सुरक्षा जोगाउने”उद्देश्यले उठाइएको हो। साथै, विश्वविद्यालयले विदेशी विद्यार्थीबारे पर्याप्त जानकारी नदिएको र मात्र तीन विद्यार्थीसम्बन्धी “अपर्याप्त तथ्यांक” दिएको दाबी गरिएको छ।
सरकारले हार्वर्डलाई विदेशी विद्यार्थीहरूको अनुशासन अभिलेख प्रतिवेदन नगरेको र परिसरमा यहूदीविरोधी गतिविधिहरू नियन्त्रण नगरेको आरोप पनि लगाएको छ। विविधता, समानता र समावेशीकरण कार्यक्रमहरूलाई प्राथमिकता दिएको भन्दै आलोचना गरिएको छ।
यो कदम अमेरिकी संघीय न्यायाधीश एलिसन बरोसले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी कार्यक्रममा परिवर्तन नगर्न ट्रम्प प्रशासनलाई अन्तरिम आदेश दिएको केही दिनपछि आएको हो।
हार्वर्डले सरकारमाथि राजनीतिक प्रतिशोधपूर्वक कदम चालिएको आरोप लगाउँदै कानुनी लडाइँ जारी राखेको छ।
प्रतिक्रिया