नीति तथा कार्यक्रम उत्पीडित जनताको उत्थानका लागि सहायक नहुने ठहर

इनेप्लिज २०८२ जेठ १९ गते ९:५७ मा प्रकाशित

काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको केन्द्रीय बैठकले तीनबुँदे महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।

संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीको अध्यक्षतामा शनिबार काठमाडौंमा केन्द्रीय पदाधिकारीहरू र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न भएको हो । बैठकले देशको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै तीनवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको जनाएको छ ।

सो बैठकले वर्तमान सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्पीडित जनताको उत्थानका लागि सहायक नहुने ठहर गर्दै विरोध जनाएको हो । साथै, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, निषाद समुदाय, पछाडि पारिएका वर्ग तथा क्षेत्र, र आर्थिक रूपमा पछाडि परेका समुदायहरूको समस्याको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तुरुन्त संशोधन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले नेपालको वर्तमान राजनीतिक अवस्थामा संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानता, स्वतन्त्रता र सामाजिक न्यायजस्ता उपलब्धिहरूमा प्रतिगामी तथा धर्मिक अतिवादी शक्तिहरूद्वारा आक्रमण सुरु गरिएको ठहर गरेको छ ।

उक्त चुनौतीको प्रतिकार गर्न उत्पीडित जनताको सशक्त राजनीतिक संगठन आवश्यक रहेको भन्दै ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ देशभर सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष अन्सारीले जनाएका छन् ।

यस अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू तय गरिएको छः जेठ २९ गते सूचना तथा सञ्चार विभागको बैठक, असार १० गते केन्द्रीय महिला विभागको बैठक, साउन १० गते युवाहरूको राष्ट्रिय भेला, साउन १५ गते बागमती प्रदेश समितिको प्रदेश भेला, भाद्र २० गते जनसांस्कृतिक विभागको भेला, जेठ २८ गते केन्द्रीय संगठन विभागको बैठक र साउन २९ गते समाजवादी विद्यार्थी संगठनको राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

यसैगरी, मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशका चारै प्रदेश भित्रका ३० जिल्लाहरूमा जिल्ला भेला, जिल्ला समिति गठन÷पुनर्गठन, सदस्यता वितरण, पार्टी प्रवेश कार्यक्रम, तालिम कार्यक्रम तथा प्रत्येक पालिका, गाउँ, वडा, नगरमा समिति गठन÷पुनर्गठन भदौ २०८२ भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

सो बैठकले जेठ १५ गते जनकपुरधाममा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा समारोह अध्यक्ष अन्सारीको नेतृत्वमा भव्य रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसलाई पूर्ण सफल भएको ठहर गरेको छ ।

गठबन्धनको घोषणाले उत्पीडित जनताको आवश्यकता पूरा गर्न, शहीदहरूको सपना साकार पार्न र गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने दिशामा सशक्त राजनीतिक शक्तिको उदय भएको ठहर गर्दै गठबन्धनको संगठन विस्तार गर्ने तथा अग्रगामी शक्तिहरूलाई समाहित गर्दै अगाडि बढ्न सुझाव दिएको छ ।

प्रतिक्रिया