परराष्ट्र मन्त्रालयको मान्यता प्राप्त एनआरएनए कार्यसमिति सक्रिय

इनेप्लिज २०८२ जेठ १५ गते २२:१० मा प्रकाशित

मिति: २८ May २०२५

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को हालको कार्यसमिति अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा विधिवत् र कानूनी रुपमा मान्य रहेको जानकारी गराइन्छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले २०८२ साल जेष्ठ ८ गते सबै नेपाली दूतावासहरुमा पठाएको पत्रमार्फत यस समितिलाई औपचारिक रुपमा मान्यता प्रदान गरिएको छ ।

सर्वोच्च अदालतद्वारा २०८० साल चैत्र २१ गते जारी गरिएको परमादेशको आधारमा २०२५ मे ३ देखि ५ सम्म काठमाडौंमा एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिएको थियो । यस फैसला अनुसार, उच्चस्तरीय संयन्त्र अन्तर्गत गठित निर्वाचन समितिद्वारा जारी कार्यादेश अनुसार, राष्ट्रिय समन्वय परिषद्, बेलायतले पनि आफ्नो एकता महाधिवेशन विधिवत रुपमा सम्पन्न गरिसकेको छ । यस अनुसार, २३ मार्च २०२५ मा सम्पन्न एकता महाधिवेशनमार्फत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतको नेतृत्व प्रेम गाहा मगरको अध्यक्षतामा विधिवत् रुपमा गठन भइसकेको छ ।

साथै, परराष्ट्र मन्त्रालयबाट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई औपचारिक मान्यता प्रदान भइसकेको अवस्थामा, राष्ट्रिय समन्वय परिषद् बेलायतको आधिकारिक कार्यसमितिद्वारा यो स्पष्ट रुपमा जानकारी गराइन्छ कि सन् २०२५ – २७ कार्यकालका लागि सदस्यता खुला गरिएको छैन । यस विषयमा कुनै भ्रम नराख्न हुन सबैलाई स्पष्ट जानकारी गराइन्छ ।

हामी सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई विशेष रुपमा जानकारी गराउन चाहन्छौँ कि हाल सदस्यता बनाउन प्रयोगमा ल्याइएको MIS प्रणाली संस्थाको नियन्त्रणमा रहेको छैन । तसर्थ, हामी सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई आफ्ना व्यक्तिगत विवरणको हुनसक्ने दुरुपयोगवाट जोगिन सतर्क रहन आग्रह गर्दछौँ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत सधैँ समुदायको एकता, पारदर्शिता र संस्थागत उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै आएको छ । अतः कुनै पनि भ्रम वा अफवाहमा नपरी, संस्थाबाट जारी आधिकारिक सूचनामार्फत मात्र जानकारी लिनुहुन हामी सबैमा हार्दिक आग्रह गर्दछौँ ।

जय एनआरएन!

प्रतिक्रिया