नेपालका प्रसिद्ध शेर्पा तथा विश्वप्रसिद्ध आरोही कामीरिता शेर्पालेले सगरमाथाको शिखरमा ३१ औँपटक पाइला राखेर आफ्नो नै कीर्तिमान फेरि एकपटक तोडेका छन्। सगरमाथा ब्यक्ति अर्थात् “एभरेस्ट म्यान” भनेर चिनिने ५५ वर्षीय कामीरिताले मंगलबार बिहान ४ बजे (स्थानीय समयअनुसार) ८,८४९ मिटर अग्लो शिखरमा पुगेका हुन्।
उनी भारतीय सेनाका अधिकारीहरूको एक टोलीलाई मार्गनिर्देशन गर्दै शिखर पुगेका थिए। अभियान आयोजक सात शिखर यात्राले विज्ञप्तिमा लेखेको छ, कामीरिता केवल नेपाली पर्वतारोहण नायक होइनन्, उनी आफैं सगरमाथाको विश्व प्रतीक बनेका छन्।”
सन् १९९४ मा पहिलोपटक व्यावसायिक अभियानमार्फत सगरमाथा चढेका उनले त्यसपछिका धेरै वर्षहरूमा हरेक मौशम सगरमाथा चढ्दै आएका छन्। केही वर्ष त उनले एकै मौशममा दुईपटक पनि शिखर पुगे ।
उनको सबैभन्दा नजिकको प्रतिस्पर्धी पासाङ दावा शेर्पाले २९ पटक सगरमाथा चढेका छन् ।
कामी भन्छन “म कीर्तिमानको लागि मात्र चढ्दिन, मेरो काम नै यो हो। म कीर्तिमानको भन्दा पनि नेपाललाई विश्वमै चिनाउन सकिएकोमा खुसी छु।”
यो मौशममा ५०० भन्दा बढी आरोहीहरू सफल भएका छन्। भीड र वातावरणीय क्षतिको चिन्ता बढ्दै गएपछि, गत वर्षदेखि पर्वतारोहिहरूलाई आफ्नै फोहोर बोकेर आधार शिविरसम्म ल्याउन अनिवार्य गरिएको छ।
प्रतिक्रिया