बेलायतको लिभरपुल एफसीले प्रिमियर लिग (बेलायतको महत्वपूर्ण प्रतियोगिता) जितेको खुसीयालीमा सोमबार हजारौं हजार समर्थक शहरका सडकमा सहभागी भएका बेला एक गाडीले भिडमा ठक्कर दिंदा ठूलो दुर्घटना भएको हो ।
घटनास्थल वाटर मार्गमा साँझ ६ बजे तिर दुर्घटना हुँदा कम्तीमा ४७ जना घाइते भएका छन्, जसमा २ जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये एक बच्चा पनि रहेको बिबिसीले जनाएको छ ।
उक्त सडक विशेष रूपमा परेड(जुलुस)का लागि बन्द गरिएको थियो, र गाडी त्यहाँ कसरी प्रवेश गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यहाँ जडान गरिएका चित्रग्राहिणी श्रब्यदृश्य(सीसीटीभी फुटेज)अनुसार लिभरपुलको विजय परेडको बस उक्त ठाउँबाट करिब १० मिनेटअघि मात्र आएको थियो।
दुर्घटनापछि मर्सीसाइड प्रहरीले ५३ वर्षीय एक गोरा बेलायती पुरुषलाई पक्राउ गरेको छ। घटनालाई आतंकवादसँग सम्बन्धित नभएको बताइएको छ, तर चालकको मनसायबारे केही बताइएको छैन। प्रहरीले अहिले सम्म चालकको नाम वा तस्बिर सार्वजनिक गरेको छैन।
अग्नि नियन्त्रकका अनुसार तीन वयस्क र एक बालकलाई गाडीको तलबाट उद्धार गरिएको हो। उद्धारकार्यमा संलग्न टोलीको प्रधानमन्त्री सर कियर स्टारमरले खुलेर प्रशंसा गरेका छन्। उनले लिभरपुल सहर र समुदायप्रति ऐक्यबद्धता जनाउँदै भने, “पूरा राष्ट्र लिभरपुलसँग छ।”
नगर प्रमुख स्टिभ रोथरमले भने घटनाबारे अनावश्यक अड्कलबाजी नगर्न आग्रह गर्दै प्रहरीले निष्पक्ष छानबिन गरिरहेको बताएका छन्।
हाल वाटर स्ट्रीट अर्थात् उक्त मार्ग पूर्ण रूपमा बन्द गरिएको छ र घटनास्थललाई अपराध स्थलको रूपमा अनुसन्धान जारी छ।
प्रतिक्रिया