ताजा समाचार : ट्रम्पद्वारा घूसकाण्डमा दोषी ठहर भएका शेरिफलाई पूर्ण माफी

इनेप्लिज २०८२ जेठ १३ गते २१:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भर्जिनियाका पूर्व शेरिफ अर्थात् काउन्टी स्तरको निर्वाचित प्रमुख सुरक्षा/प्रहरी अधिकारीस्कट जेनकिंसलाई पूर्ण राष्ट्रपति माफी दिएका छन् । जेनकिंस ७०,००० डलरभन्दा बढी घूस लिएको आरोपमा दोषी ठहर भई १० वर्ष कारागार सजाय पाएका थिए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, “शेरिफ स्कट जेनकिंस, उनकी पत्नी र परिवारलाई भ्रष्ट र हतियारिकरण गरिएको बाइडेनको न्याय बिभागले नर्कमा धकेल्यो। उनी निर्दोष छन् र एक दिन पनि झ्यालखाना बस्न नपर्ने व्यक्ति हुन्।”

स्कट जेनकिंसले व्यापारीहरूसँग घूस लिई तिनीहरूलाई बिना तालिम, बिना परीक्षण उप शेरिफ*नियुक्त गरेका थिए। अभियोजन पक्षले उनलाई षड्यन्त्र, घूस, र इमानदारी सेवा उल्लंघनको आरोपमा दोषी ठहर गरेको थियो।

तर ट्रम्पले यो मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भने, “उनी बाइडेनले नियुक्त गरेका न्यायाधीशको पूर्वाग्रही निर्णयको शिकार भए। उनको निर्दोषिता पुष्टि गर्ने प्रमाणसमेत अस्वीकार गरियो।”

पूर्व शेरिफ जेनकिंसले करिब एक दशकसम्म भर्जिनियाको कलपेपर काउन्टीमा सेवा दिएका थिए। २०२३ को निर्वाचनमा पराजित भएपछि उनीमाथि अनुसन्धान तीव्र भएको थियो।

यो निर्णयले अमेरिकी न्याय प्रणालीमा राष्ट्रपतिको हस्तक्षेप कति उपयुक्त भन्ने बहसलाई पुनः तातो बनाएको छ। ट्रम्प समर्थकहरूले यसलाई न्यायको जित भनेका छन् भने आलोचकहरूले यसलाई “राजनीतिक रक्षा” को रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया