ओटावा, क्यानडा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकामा गाभ्नु पर्ने टिप्पणी गरेपछि प्रधानमन्त्री मार्क कार्नीले बेलायती राजा चार्ल्स तृतियलाई ओटावा आमन्त्रण गरेका छन्।
राजा चार्ल्स यस हप्ता क्यानडाको संसदमा सम्बोधनको साथै सरकारको नीति प्रस्तुत गर्नेछन् ,जुन दुर्लभ घटना हो।
प्रधानमन्त्री कार्नीले आइतवार आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै भने, “हाम्रो देश अहिले एक ऐतिहासिक मोडमा र बर्लिन पर्खाल ढलेपछिको सबैभन्दा ठूलो व्यापार प्रणाली परिवर्तनको संघारमा छ ।यस्तो बेला क्यानडाको नीति र प्राथमिकताहरू प्रस्तुत गर्न हाम्रो सार्वभौम राजा स्वयं आउनु विशेष अर्थ राख्दछ।”
प्रधानमन्त्री कार्नीले यस भ्रमण घोषणा गर्दा भनेका थिए, “क्यानडाको सार्वभौमिकताको अडिग रक्षाकर्ता हुनुहुन्छ राजा।”
बेलायती राजा औपचारिक रूपमा क्यानडाको राष्ट्रप्रमुख हुन्। क्यानडा बेलायती राष्ट्रमण्डलको सदस्य हो, जहाँ राजतन्त्र एक प्रतीकको रूपमा रहन्छ। चार्ल्सकी आमा रानी एलिजाबेथ द्वितीयले ७० वर्षे शासनमा दुईपटकमात्र ‘स्पीच फ्रम् द थ्रोन’ अर्थात सिंहासन भाषण दिएकी थिइन् । एपीका अनुसार महारानीले अन्तिमपटक सन् १९७७ मा सम्बोधन दिएकी थिइन ।
यद्यपि अधिकांश क्यानाडालीहरू राजतन्त्रप्रति उदासीन छन्, कार्नी राष्ट्रपति ट्रम्पसँगको राजनीतिक अन्तर स्पष्ट देखाउन राजा चार्ल्सको उपस्थितिलाई रणनीतिक रूपमा प्रयोग गरिरहेका छन्।
यस भ्रमणले क्यानडाको स्वतन्त्रता र अमेरिकी प्रभावबाट छुट्टिएको पहिचान अझ मजबुत हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया