कैदी आदान प्रदान समाप्त पछि युक्रेनको राजधानी कीभमाथि रुसको भीषण क्षेप्यास्त्र आक्रमण

इनेप्लिज २०८२ जेठ ११ गते १:२५ मा प्रकाशित

युक्रेनको राजधानी कीभ शुक्रबार राति भीषण क्षेप्यास्त्र तथा मानव रहित यान (ड्रोन )आक्रमणको चपेटामा पर्यो। शहरभरि विस्फोट र बन्दुकको आवाज गुञ्जियो। धेरै बासिन्दा भूमिगत रेल चौकी (मेट्रो स्टेसन)हरूमा आश्रय लिएर बसे ।

यो आक्रमण शनिबार बिहानसम्म जारी रह्यो, जुन युक्रेन र रूसबीच सयौं सैनिक र सर्वसाधारणको अदल-बदल भएको केही घण्टापछि सुरु भएको हो। पछिल्लो तीन वर्षदेखिको युद्धमा स्थायी युद्धविरामको प्रयास असफल हुँदै आइरहेका बेला गत साता इस्तानबुलमा भएको बैठकमा दुबै पक्षबीच भएको सहमति अनुसार यो पहिलो चरणको कैदी आदान प्रदान थियो।

कीभको सैन्य प्रशासनका कार्यवाहक प्रमुख टिमुर त्काचेंकोका अनुसार अवरोध गरिएका क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन)का टुक्राहरू कम्तीमा चार स्थानमा खसेका छन्। आक्रमणपछि छ जनाले उपचार पाएका छन् भने सोलोमियान्स्की जिल्लामा दुईवटा आगलागी भएको छ।

शहरका नगर प्रमुख भिटाली क्लिच्कोले हमलाअघि नै २० भन्दा बढी रूसी आक्रमण मानव रहित यन (ड्रोन )कीभतर्फ उडिरहेको चेतावनी दिएका थिए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पहिलो चरणमा ३९० युक्रेनीहरू फर्काइएको छ । आगामी दिनमा थप रिहाइ हुने अपेक्षा छ, जसले यो युद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो कैदी अदल-बदल बनाउनेछ।

यद्यपि यस्तो सहयोगात्मक कदमपछि पनि करिब १,००० किलोमिटर लामो युद्ध रेखामा भिडन्त जारी रहेको सिबिएसन्यूजले जनाएको छ । दुबै पक्षले गहिरो प्रहारहरू रोकेका छैनन्।

प्रतिक्रिया