उत्तर कोरियाली नेता किम जोङ उनले देशको नयाँ ५,००० टनको युद्धपोतको प्रक्षेपणमा भएको गम्भीर दुर्घटनालाई “शुद्ध लापरवाहीबाट भएको आपराधिक कार्य” भनी कडा आलोचना गरेका छन्। यो जानकारी उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी( समाचार निकाय)ले दिएको हो।
बुधबार उत्तर–पूर्वी चोङजिनस्थित जलपोत निर्माण केन्द्रमा युद्धपोत प्रक्षेपणको क्रममा सो जहाज लञ्चिङ स्लेज(सहायक संरचना)मा अड्किएर पल्टिएको र त्यसले तल्लो भागमा क्षति पुर्याएको जनाइएको छ। किम स्वयं उक्त प्रक्षेपण समारोहमा उपस्थित थिए।
केसिएनएका अनुसार, किमले यस दुर्घटनालाई “असह्य, अस्वीकार्य र आपराधिक लापरवाही, गैरजिम्मेवारीपन तथा अवैज्ञानिक सोचको नतिजा” भन्दै सम्बद्ध निकायहरूमाथि कडा चेतावनी दिएका छन्।
उनले गोला बारुद उद्योग विभाग, राज्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सँस्था किम चाएक प्रविधि विश्वविद्यालय तथा केन्द्रीय जलपोत ढाचासंस्थानमाथि विशेष ध्यान दिँदै कडा कारबाहीको चेतावनी दिएका छन्।
दोषीहरूलाई अर्को महिनाको दलको केन्द्रीय समितिको बैठकमा कारबाही गरिने बताइएको छ।
यो युद्धपोत उत्तर कोरियाको दोस्रो नयाँ विधाको विध्वंसक हो। पहिलो युद्धपोत ‘चो हेयोन’ गत अप्रिलमा पश्चिमी बन्दरगाह नाम्पोमा सार्वजनिक गरिएको थियो। सो अवसरमा किमले यो युद्धपोत उत्तर कोरियाको नौसैनिक आधुनिकीकरणमा “नवीनतम सफलता” भएको घोषणा गरेका थिए।
किमको उद्देश्य भनेको उत्तर कोरियालाई “ब्लू-वाटर” (समुद्रमा टाढासम्म संचालन गर्नसक्ने) नौसैनिक शक्तिमा रूपान्तरण गर्नु रहेको छ।
प्रतिक्रिया