यूक्रेनी सेना हटाइएपछि पहिलोपटक कर्स्क पुगे राष्ट्रपति पुटिन, आक्रोशित नागरिकलाई राहतको आश्वासन

इनेप्लिज २०८२ जेठ ८ गते १०:०९ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यूक्रेनी सेनालाई हटाएपछि पहिलोपटक युक्रेनसँगको सिमाना नजिकैको कर्स्क क्षेत्र पुगेका छन्। क्रेमलिनले बुधबार जनाएको अनुसार पुटिनले मंगलबार कर्स्कको भ्रमण गरेका थिए।

सन् २०२४ को अगस्तमा यूक्रेनी सेनाले कर्स्कमा आश्चर्यजनक रूपमा हमला गरेका थिए, जुन करिब २ वर्षदेखि चलिरहेको युद्धमा सर्वाधिक ठूलो सिमापार हमला मानिएको थियो। नौ महिनापछि रूसी सेनाले उनीहरूलाई हटाएको दाबी गरे पनि युक्रेनले यसबारे आधिकारिक पुष्टि गरेको छैन।

पुटिनले त्यहाँ निर्माणाधीन कर्स्क आणविक कारखाना -२ को अवलोकन गरे र बन्द वातावरणमा केही स्वयंसेवकहरूसँग छलफल गरे। साथै, कार्यवाहक गभर्नर अलेक्जेन्डर खिन्श्टेइनसँग भेटेर घर फर्कन नसकेका विस्थापित परिवारलाई मासिक राहत रकम निरन्तर दिन क्रेमलिन प्रतिबद्ध रहेको बताएका छन्।

यसअघि क्षतिपूर्ति नपाएको भन्दै स्थानीयहरूले दुर्लभ तर संगठित प्रदर्शन समेत गरेका थिए।

त्यसैबीच रूसी रक्षा मन्त्रालयले एकै रातमा देशभर १५९ यूक्रेनी मानव रहित यान (ड्रोन) खसालिएको जानकारी दिएको छ, जसमा ५३ ओर्योल र ५१ ब्रायान्स्क क्षेत्रमा खसालिएको उल्लेख गरिएको छ।

यो भ्रमण पुटिनको आन्तरिक राजनीतिक सन्देश र सीमावर्ती क्षेत्रको अवस्थालाई शान्त पार्ने प्रयासको रूपमा हेरिएको छ।

प्रतिक्रिया