भेटिकनमा ऐतिहासिक वार्ता: उपराष्ट्रपति भान्स र रुबियोले पोप लियो १४ औँ सँग युक्रेन-रुस युद्धबारे गरे कूटनीतिक भेट

इनेप्लिज २०८२ जेठ ६ गते १०:१३ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशसचिव मार्को रुबियोले सोमबार भर्खर निर्वाचित पोप लियो १४ औँ सँग भेट गर्दै युक्रेन-रुस युद्धबारे कूटनीतिक छलफल गरेका छन्। बैठक भेटिकनको सचिवालयको कार्यालयमा गोप्य रूपमा सम्पन्न भएको हो।

पोप लियोले आफ्नो निर्वाचनपछिको पहिलो साता मै रुस-युक्रेन युद्धको अन्त्यको आह्वान गरेका थिए। यही क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सोमबार नै संवाद गर्ने तयारीमा छन्।

पोप र अमेरिकी नेताबीचको वार्तामा गिर्जाघर (चर्च) र राष्ट्रबीचको सहकार्य ,धार्मिक स्वतन्त्रता, र अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान जस्ता विषयहरू समेटिएका थिए। भेटिकनका अनुसार, “दुवै पक्षले द्वन्द्व प्रभावित क्षेत्रहरूमा अन्तर्राष्ट्रिय कानुनको पालना र वार्तामार्फत समाधान खोज्न जोड दिएका छन्।”

भान्स र रुबियो आइतबार पोप लियो १४ औँको उद्घाटन प्रार्थना सभामा पनि सहभागी भएका थिए। सोमबार उनीहरूले इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी र युरोपेली आयोग प्रमुख उर्सुला भन डर लेयेनसँग पनि भेटवार्ता गरे।

भान्सले भेटिकनका विदेश सम्बन्ध प्रमुख महाधर्माध्यक्ष पल रिचर्ड ग्यालाघरसँग समेत पृथक छलफल गरेका थिए। यो भेटवार्ता ट्रम्प प्रशासनको कूटनीतिक प्रयासलाई अझ सशक्त बनाउने संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया