“भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघनको आरोप लगायो, सुरक्षा स्थिति तनावपूर्ण”

इनेप्लिज २०८२ वैशाख २८ गते १:१५ मा प्रकाशित

भारत र पाकिस्तानले युद्धविरामको सहमति जनाएपछि छोटो समयमै तनाव उत्पन्न भएको छ। भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघनको आरोप लगाएको छ, जसले गर्दा युद्धविराम प्रक्रिया थप जटिल बनाएको अलजजिराले समाचारमा उल्लेख गरेको छ ।

केही घण्टाअगाडि दुबै देशले भूमि, हवाई र समुद्री युद्धविरामको सहमति गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसको जानकारी दिएका थिए।

तथापि, भारतीय प्रशासित कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले सामाजिक संजाल (एक्स)मा जम्मू र श्रीनगरमा बम विस्फोट र मानव रहित यान (ड्रोन) गतिविधिको जानकारी दिएर युद्धविरामको उल्लंघन भएको दाबी गरे। भारतका विदेश सचिव विक्रम मिश्रिले पाकिस्तानलाई युद्धविराम उल्लंघनको आरोप लगाउँदै भारतीय सेना युद्धविराम उल्लंघनको प्रतिक्रिया दिने तयारीमा रहेको बताए।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तारारले भारतको आरोपलाई खारेज गर्दै भने, “पाकिस्तानले भारतको आक्रमणको जवाफ दिएको छ र त्यसपछि पाकिस्तानले कुनै युद्धविराम उल्लंघन गरेको छैन।”

यसै बीच इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमानस्थलले सुरक्षा कारणले उडान तालिकामा ढिलाइ हुने चेतावनी दिएको छ। यात्रुहरूलाई सुरक्षा जाँचमा अतिरिक्त समयको तयारी गर्न सल्लाह दिइएको छ।

भारत र पाकिस्तानको बीचमा युद्धविरामको प्रक्रिया अझै स्थिरता प्राप्त गर्न नसकेको देखिन्छ।

प्रतिक्रिया