भारतले शनिबार बिहान पाकिस्तानको सैन्य कारबाहीलाई “प्रभावकारी रूपमा प्रत्युत्तर” दिएको दाबी गरेको छ। भारतीय वायुसेना वरिष्ठ वायुसेना अधिकारी व्योमिका सिंहले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पाकिस्तानले “नागरिक क्षेत्र र सैन्य पूर्वाधार” लक्षित गरी आक्रमण गरेको आरोप लगाइन्।
उनका अनुसार पाकिस्तानले भारत-नियन्त्रित कश्मीरका बासिन्दामाथि चिकित्सा र शैक्षिक संरचनाहरूलाई समेत निशाना बनाएको थियो। सिंहले भनिन्, “पाकिस्तानले २६ भन्दा बढी स्थानमा हवाई घुसपैठ र बारम्बार आक्रोशजनक हमला प्रयास गर्यो।”
भारतले ती सबै आक्रमण प्रयासहरूलाई सफलतापूर्वक असफल बनाएको दाबी गरेको छ। सिंहका अनुसार पाकिस्तानले मानव रहित यान (ड्रोन) उच्च क्षमताको हतियार र ध्वनिको गति भन्दा तेज क्षेप्यास्त्र (सुपरसोनिक मिसाइल )प्रयोग गरी पञ्जाब राज्यस्थित भारतीय हवाई अखडालाई लक्षित गरेको थियो।
“भारतीय सेनाले कडा र असरदार जवाफ दिँदै पाकिस्तानका थुप्रै सैन्य संरचनामा ठूलो क्षति पुर्याएको छ,” सिंहले भनिन्। उनले भारततर्फ “सीमित क्षति” भएको जनाइन्।
भारतीय सेनाले पाकिस्तानका सैनिकहरू अग्रपंक्तिमा तैनाथ भइरहेका संकेत देखिएको र त्यसले थप संघर्ष उक्साउने सम्भावना रहेको बताएको छ। भारतले आफ्ना सबै सैन्य संयन्त्रहरू उच्च सतर्क अवस्थामा राखेको र शत्रुतापूर्ण गतिविधिहरूलाई ‘सन्तुलित र कडाइपूर्वक’ जवाफ दिएको जनाएको छ।
यसैबीच पाकिस्तानले भने भारतीय आक्रमणपछि ‘आतङ्ककारी पूर्वाधार’ विरुद्ध कारबाही गरेको दाबी गर्दै प्रत्युत्तरको रूपमा सैन्य अभियान शुरू गरेको बताएको छ।
शनिबार बिहान श्रीनगरमा दुईवटा ठूलो विस्फोट भएका थिए। विस्फोटहरू पाकिस्तानको कारबाहीलगत्तै भएको बताइएको छ। राजौरी शहरमा भएको गोलबारीमा एक जिल्ला विकास आयुक्त राजकुमार ठप्पाको ज्यान गएको पुष्टि जम्मु-कश्मीरका मुख्यमन्त्रीले गरेका छन्।
अमेरिकी विदेशसचिव मार्को रुबियोले पाकिस्तानी सेना प्रमुख असीम मुनीरसँग वार्ता गर्दै दुबै पक्षलाई तनाव न्यूनीकरणको आग्रह गरे। उनले भारतसँग पनि अलग रूपमा वार्ता गरी अमेरिका शान्ति वार्तामा मध्यस्थता गर्न इच्छुक रहेको जनाएका छन्।
चीनले पनि भारत–पाकिस्तानबीचको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरेको छ। पाकिस्तानी विदेशमन्त्री इसहाक डारले भने, “भारतले आक्रामकता रोके, हामी पनि रोक्नेछौं।”
प्रतिक्रिया