शुक्रबार बिहानै भारतले पाकिस्तानमाथि फेरि मानव रहित यान (ड्रोन )हमला गरेको एक वरिष्ठ पाकिस्तानी सरकारी स्रोतले बताएका छन्।
स्रोतका अनुसार भारतले विहानीपख नयाँ हमला गरेको सिएनएनले जनाएको छ । यद्यपि त्यसको प्रभाव कस्तो भयो भन्ने विषयमा अहिले स्पष्ट जानकारी आई नसकेको सिएनएनले उल्लेख गरेको छ । कम्तीमा एक मानव रहित यान (ड्रोन )पाकिस्तानले खसालेको दाबी गरिएको छ।
बुधबारबाट सुरु भएको तनावपछिको यो घटनाले दुई छिमेकी परमाणु शक्ति राष्ट्रबीचको सम्बन्ध थप चिसिएको देखिन्छ। दुवै पक्षले एक-अर्कामाथि आकाशीय हमला गरेको आरोप लगाउँदै आएका छन्।
शुक्रबार भारतको सेनाले पनि रातभरि सीमामा पाकिस्तानी मानव रहित यान (ड्रोन )तथा अन्य हतियारहरूमार्फत गरिएका बहुसंख्यक आक्रमणहरूलाई सफलतापूर्वक प्रतिकार गरिएको जनाएको छ। भारतीय सेनाले चेतावनी दिँदै भन्यो, “हामी हरेक दुर्भावनापूर्ण योजनाको कडा जवाफ दिनेछौँ।”
यता पाकिस्तानको तर्फबाट आएको स्रोतका अनुसार पाकिस्तानले हालसम्म भारतमाथि कुनै सीधा हमला गरेको छैन। स्रोतले भन्यो, “पाकिस्तान अहिले कूटनीतिक माध्यमलाई प्राथमिकता दिइरहेको छ र भारतका हमलाहरूको जवाफ दिनुअघि वार्ताको लागि ठाउँ दिइरहेको छ।”
यो घटनाक्रमले दक्षिण एसियाली क्षेत्रलाई फेरि अशान्तितर्फ धकेल्न सक्ने खतरा बढाएको देखिन्छ । अझै पनि स्थिति जटिल छ, र दुवै देशबाट संयम र संवादको अपेक्षा गरिँदैछ।
प्रतिक्रिया