अमेरिका पुग्ने आशामा १४ वर्षे भारतीय किशोरको सान डिएगो डुंगा दुर्घटनामा ज्यान गयो ,१० वर्षे बहिनी अझै बेपत्ता

इनेप्लिज २०८२ वैशाख २५ गते ११:१९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नजिकै गत सोमबार बिहान समुद्रमा डुबेको एक पाङ्गा डुङ्गा प्रकरणमा तीन जनाको ज्यान गएको र नौ जना हराइरहेका बेलामा अमेरिकी अधिकारीहरूले यसलाई मानव तस्करीको संगठित आपराधिक गतिविधि भएको भन्दै पाँच जना मेक्सिकन नागरिकमाथि अभियोग लगाएका छन्।

अमेरिकी कोस्ट गार्ड(तटरक्षक) का अनुसार सो डुङ्गाबाट तीन शव फेला परेका थिए भने चार जनालाई अस्पताल लगिएको थियो। उनीहरूमध्ये तीन जना महिला र एक पुरुष थिए, जसलाई स्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको थियो।

मृतकहरूमा एक १४ वर्षे भारतीय किशोर थिए, जसकी १० वर्षे बहिनी अझै बेपत्ता छिन् । समुद्रमा डुबेको आशंका गरिएको छ। उनीहरूका आमाबुवा बाँच्न सफल भए पनि बुबा कोमामा छन् भने आमा अस्पतालमा उपचाररत छन्।

अमेरिकी न्याय बिभागले मानव तस्करीमा संलग्न भनी जुलियो सेसर जुनीगा लुना (३० बर्ष ), जेसस जुआन रोड्रिगेज लेइवा (३६ बर्ष ), मेलिसा जेनल कोटा (३३ बर्ष ), गुस्ताभो लारा (३२ बर्ष ) र सेरजियो रोजास-फ्रेगोसा (३१ बर्ष ) लाई अभियुक्त बनाएको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम ले प्रमुख दुई अभियुक्तहरू लुना र लेइवाका लागि मृत्युदण्डको माग गर्दै भनिन्, “यो त्रासदी मानव तस्करीको क्रूरता र घातक स्वरूपको चेतावनी हो। यिनीहरूको मृत्यु लोभ र निर्दयताको सिधा परिणाम हो।”

मानव तस्करी विभागका प्रमुख विशेष गुप्तचर शन गिब्सनले भने, “मानव तस्करी केवल गैरकानुनी मात्र होइन, अत्यन्त खतरनाक पनि हो। तस्करहरू मानिसलाई सामानझैँ व्यवहार गर्छन्, जसले यस्ता हृदयविदारक परिणाम निम्त्याउँछ।”

अमेरिकी तट रक्षक , दमकल विभाग, जीवन रक्षक टोली र हवाई स्रोतहरू प्रयोग गर्दै हराइरहेका व्यक्तिहरूको खोजी गरिएको थियो, तर सोमबार रातिसम्म ८ जनाको उद्धार भए पनि १० वर्षे बालिका अझै हराइरहेकी छिन्।

प्रतिक्रिया