भारतद्वारा बुधबार बिहान पाकिस्तान र पाकिस्तान-शासित काश्मीरमा गरिएका घातक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २६ जना मध्ये एक ३ वर्षीया बालिकासहित मारिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तान सेनालाई “आत्मरक्षाको अधिकार अन्तर्गत उपयुक्त प्रतिआक्रमण” गर्न अनुमति दिएका छन्।
बुधबार बोलाइएको आपतकालीन राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शरिफले निर्दोष पाकिस्तानी नागरिकहरूको मृत्युप्रति प्रतिशोध लिन सशस्त्र सेनालाई निर्देशन दिएका हुन्।
राष्ट्रिय सुरक्षा समिति बैठकको निष्कर्ष अनुसार, “पाकिस्तानले आफ्ना निर्दोष नागरिकहरूको मृत्यु र सार्वभौमसत्ताको उल्लङ्घनको बदला आफूले रोजेको स्थान, समय र तरिकामा दिने अधिकार सुरक्षित राख्दछ।”
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानी सशस्त्र सेनालाई आवश्यक ‘प्रतिआक्रणात्मक’ कदम चाल्न पूर्ण रूपमा अनुमति दिइएको छ।” साथै, सम्पूर्ण राष्ट्र “अझ सशक्त र एकीकृत भएर” भावी कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको बताइएको छ।
भारतले भने यो कारबाही अप्रिल २२ मा भारतीय नियन्त्रित काश्मीरमा भएका आतंकवादी हमलाको प्रतिक्रियामा गरिएको बताएको छ । उक्त आक्रमणमा २ दर्जनभन्दा बढी, प्रायः पर्यटकहरूको हत्या भएको थियो। पाकिस्तानले उक्त हमलामा संलग्नता अस्वीकार गर्दै आएको छ।
यो घटनाले भारत–पाकिस्तानबीचको सम्बन्धमा थप तनाव ल्याएको छ र व्यापक द्वन्द्वको सम्भावनालाई बढाएको छ।
प्रतिक्रिया