हरेक अवैध आप्रवासीलाई न्यायिक परीक्षण होइन, तुरुन्त निष्कासन चाहिन्छ : ट्रम्पको कडा सन्देश

इनेप्लिज २०८२ वैशाख २२ गते १०:०३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार साँझ अमेरिकी राष्ट्रपति चढ्ने विशेष विमानमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले नियुक्त गरेका न्यायाधीशहरू अवैध आप्रवासीहरूका लागि अनावश्यक न्यायिक परीक्षण (ट्रायल) को माग नगर्ने बताए। “हामी तीव्र गतिमा न्यायाधीश नियुक्त गरिरहेका छौं, उत्कृष्ट छनोटमा केन्द्रित छौं,” ट्रम्पले भने।

उनले भने, “हामीलाई त्यस्ता न्यायाधीशहरू चाहिन्छ जसले प्रत्येक अवैध आप्रवासीका लागि मुद्दाको सुनुवाइको माग नगरुन । लाखौं मानिस अवैध रूपमा अमेरिका प्रवेश गरेका छन्। हरेकका लागि न्यायिक कारबाही भयो भने त्यो लाखौं मुद्दा हुनेछ – जुन असम्भव छ।”

राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासन नीति परिवर्तन अभियानलाई “संख्या १ मुद्धा ” भने। उनले “उग्र विचारधाराका न्यायाधीशहरू” उनका कदमहरूमा अवरोध गरिरहेको समेत आरोप लगाए ।

“उनीहरू हाम्रो देशमा गैरकानुनी रूपमा प्रवेश गर्छन्, अनि हामीलाई हप्तौं, महिनौंसम्म प्रत्येक अपराधिक आप्रवासीका लागि अदालतमा पेशी गर्न भनिन्छ। देशभर अपराधीहरू फैलिएका छन् – यो अस्वीकार्य छ,” ट्रम्पले दाबी गरे।

उनले चेतावनी दिए, “यदि सर्वोच्च अदालतले पनि यस्तो प्रक्रिया स्वीकार गर्छ भने, हामीसँग देश बाँकी रहने छैन।”

ट्रम्पको सन्देश स्पष्ट छ – अमेरिका सुरक्षित राख्न कडा, द्रुत र निर्णायक कानुनी कदम अनिवार्य छन्।

प्रतिक्रिया