अमेरिकाको साउथ क्यारोलाइना राज्यमा दुई बालबालिका र अभिभावकलाई ठक्कर दिई फरार भएका सशस्त्र व्यक्ति अझै फरार रहेको फक्सन्यूजले जनाएको छ । यो घटना गत आइतवार दिउँसो १ बजे सलिभन आइल्याण्डस्थित सनराइज प्रेस्बिटेरियन गिर्जाघर (चर्च)बाहिर भएको हो।
सलिभन आइल्याण्ड प्रहरी विभागका अनुसार जस्टिन कोलिन एडम्स नाम गरेका व्यक्ति अहिले पनि फरार छन् । उनीसँग चक्कु भएको आशंका गरिएको छ। प्रहरीका अनुसार उनी रातो कमेज र कालो पाइन्ट(सुरुवाल) लगाएर हिँडिरहेको देखिएको थियो।
प्रमुख ग्लेन मेडोजका अनुसार, घटनास्थलमा गाडी एक्कासी गिर्जाघर (चर्च)को परिसरभित्र प्रवेश गरी एक वयस्क र दुई बालबालिकालाई ठक्कर दिएको थियो। तीमध्ये एक बच्चा र वयस्कलाई अस्पताल लगिएको छ र दुवैको अवस्था स्थिर रहेको छ। अर्को बच्चालाई घटनास्थलमै उपचार गरि अर्को अभिभावकको जिम्मा दिइएको छ।
प्रहरी अधिकारीहरूले यो हमला जानीजानी गरिएको हो वा होइन भन्ने पुष्टि गर्न अस्वीकार गरेका छन्। तर, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै एफबीआई, नौसेना अपराधिक अनुसन्धान सेवा , साउथ क्यारोलाइना कानून प्रवर्तन विभाग , यूएस मार्शल सेवा लगायतका निकायहरू खोजीमा संलग्न छन्।
बासिन्दाहरुलाई घरमै बस्न र सतर्क रहन आग्रह गरिएको छ किनभने मानव रहित यान (ड्रोन),उदग्रबिमान (हेलिकप्टर) र प्रहरीले घर दैलो अभियान जारी राखेको छ।
प्रतिक्रिया