बदला अश्लीलता(रेभेन्ज पोर्न) रोक्न ऐतिहासिक कदम: अमेरिकी संसदबाट ऐक्यबद्धताको साथ कानुन पारित

इनेप्लिज २०८२ वैशाख १६ गते २२:३९ मा प्रकाशित

अमेरिकी प्रतिनिधिसभाले सोमबार बाइपार्टीसन(दुई दलबीचको सहमति) प्रस्ताव पारित गर्दै सहमतिको साथ ‘रेभेन्ज पोर्न’ (बदला स्वरूप अश्लील सामग्री सार्वजनिक गर्ने कार्य) लाई आपराधिक अपराधको रूपमा मान्यता दिएको छ।

टेक इट डाउन एक्ट नामक यो विधेयक ४०९–२ को ऐतिहासिक मतसहित पारित भएको हो। मात्र दुई जना रिपब्लिकन सांसद थोमस म्यासी (केन्टकी) र एरिक बर्लिसन (मिजौरी)ले विरोध गरे।

यो विधेयकमा सामाजिक सञ्जाल प्रतिष्ठान (कम्पनी)हरू र संजालस्थल (वेबसाइट)हरूलाई कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा बनाइएका डीपफेक नक्कली श्रब्य दृश्य (भिडियो) तथा तस्बिर समेत तुरुन्त हटाउनुपर्ने कानुनी बाध्यता राखिएको छ। यसले पीडितहरूलाई निजि संरक्षण दिने र यस्ता अपराधीहरूलाई दण्डित गर्ने बाटो खोल्नेछ।

विधेयक सन् २०२४ मा सिनेटर टेड क्रुज (टेक्सस) र एमी क्लोबुचर (मिनेसोटा) द्वारा प्रस्ताव गरिएको थियो । फेब्रुअरीमा सिनेटबाट पारित भइसकेको छ। अब यो राष्ट्रपतिः डोनाल्ड ट्रम्पको कार्यालयमा पठाइएको छ, जहाँ उनले यसलाई कानुनमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

यो विधेयक प्रविधिको दुरुपयोग रोक्न र अङ्किय (डिजिटल) युगमा मानवीय सम्मान कायम राख्न एक ऐतिहासिक कदम हो।

प्रतिक्रिया