“भर्जिनियाको ममता काफ्लेको हत्या प्रकरण: नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा”

इनेप्लिज २०८२ वैशाख १३ गते ०:०५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा गत वर्ष आफ्नी २८ वर्षीया पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव बिभाजन गरेको अभियोगमा पक्राउ परेका मनासस पार्क निवासी नरेश भट्ट शुक्रबार बिहान फेरि अदालतमा देखापरे। अदालतले आगामी सेप्टेम्बरमा सुरु हुने न्यायिक सुनुवाइका लागि अभियोजन पक्षले अनुरोध गरेका तीनजना बाह्य पत्रकारहरूसहितलाई बोलाउने अनुमति दिएको छ।

प्रिन्स विलियम काउन्टी सर्किट(क्षेत्रीय) अदालतमा भएको छोटो सुनुवाइमा न्यायाधीश किम्बर्ली अर्बिङ्गले अभियोजकको अनुरोध स्वीकृत गरेपछि नरेश भट्टका बचाउ पक्षले कुनै आपत्ति जनाएनन्।

ती साक्षीहरूमा वासिङ्टन डी.सी. स्थित डब्लुयुएसए९का पत्रकार राफेल सान्चेज-क्रुज र केटी लुसो रहेका छन्, जसले नरेश भट्टलाई पक्राउ हुनु अघि उनको मनासस स्थित घरमै पुगेर अन्तर्वार्ता लिएका थिए। भट्टले लुसोलाई उनकी पत्नी “हराएकी” भनेका थिए ।

तेस्रो साक्षी हुन् सच्ची मैनाली हुन् ,उनि ईनेप्लिजसँग केही बर्ष आवासीय सम्पादक कै हैशियतमा सेवा गरेकी थिइन् । हाल उनि आफ्नै सच्चीको साथ नामक कार्याक्रम संचालन गर्दै आएकी छिन् । उनले नरेश भट्टसहित उनको परिवार र साथीहरूका अन्तरवार्ता लिएकी छिन् र अदालतमा साक्षी दिन बोलाइएको उल्लेख गरेकी छिन्।

ममता काफ्ले ,जो एक स्वास्थ्य परिचारिका र एक वर्षीया छोरीकी आमा थिइन् । उनलाई अन्तिमपटक गत जुलाईको अन्त्यतिर युभिए प्रिन्स विलियम मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा काम गरिरहेकी अवस्थामा देखिएकी थिइन्। उनी २०२१ मा नेपालबाट अमेरिका आएकी थिइन्।

३८ वर्षीय नरेश भट्ट, जो अमेरिकी सेनाका पूर्वसैनिक पनि हुन् । आज अदालतमा उपस्थित हुँदा कारागारको सुनौलो पोशाकमा उपस्थित थिए। दर्शक दीर्घामा ममता काफ्ले भट्टका परिवार, साथी र समर्थकहरू थिए, जसले घरेलु हिंसाविरुद्धको चेतनाको संकेत स्वरूप बैजनी रिबन (फित्ता )लगाएका थिए।

ममताकी साथी होली वर्थले अदालतबाहिर भनिन्, “हामीलाई लाग्छ यो न्यायतर्फको अर्को महत्वपूर्ण कदम हो। ममताका लागि हामी लगातार लडिरहनेछौं।”

वर्थले आगामी मे २८ तारिख बिहान ९ बजेदेखि ११ बजेसम्म अदालत प्रांगणमा ममताको जन्मदिनको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सबैलाई सामेल हुन आमन्त्रण दिइन्। “यो ममता बिना मनाइने पहिलो जन्मदिन हो। तर उनी हाम्रो सम्झनामा सधैं रहिरहनेछिन्,” उनले भावुक हुँदै भनिन्।

प्रहरीका अनुसार, नरेशले पत्नीको हत्या गरी उनको शवलाई टुक्र्याएर फोहोर टोकरीमा फालिदिएका थिए। पछि ममताको रगत भेटिएपछि निर्णायक मण्डल (ग्राण्ड जुरी)ले उनलाई पहिलो श्रेणीको हत्याको अभियोगमा दोषी ठहर गरेको हो।

नरेश भट्टको अर्को सुनुवाइ अगस्त २७ मा तोकिएको छ भने सेप्टेम्बर ८ मा उनको निर्णायक मण्डल बयान हुने तय भएको छ।

समाचार कृतज्ञता : डब्लुयुएसए९

प्रतिक्रिया