ट्रम्प प्रशासनद्वारा हार्वर्डको कर-मुक्त दर्जा खारेज गर्न दबाव, यहूदीविरोधी व्यवहारप्रति कठोर कदम

इनेप्लिज २०८२ वैशाख ३ गते २३:४५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हार्वर्ड विश्वविद्यालयमाथि ठूलो आघात पुर्‍याउने तयारी गरेको छ। ट्रम्प प्रशासनले आन्तरिक राजस्व सेवा (आइआरएस ) लाई हार्वर्ड विश्वविद्यालयको कर-मुक्त दर्जा खारेज गर्न आग्रह गरेको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयलाई परिसरभित्र यहूदीविरोधी गतिविधिको सामना गर्न असफल भएको भन्दै यो कदम चालेको हो । न्याय विभागका स्रोतहरूले फक्सन्यूजलाई दिएको जानकारीअनुसार हार्वर्डको ५०१(सि) (३ ) दर्जा अब संकटमा पर्ने सम्भावना देखिएको छ। सिएनएनका अनुसार आइआरएसले चाँडै यसबारे अन्तिम निर्णय दिन सक्ने बताएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा कडा आलोचना गर्दै भने, “हार्वर्डले आफ्नो बाटो हराएको छ र अब संघीय सहायता पाउने योग्य छैन।” उनले हार्वर्डमा राडिकल लेफ्ट इडिएट्स र बर्डब्रेन (कट्टर वामपन्थी बेवकूफ तथा कुबुद्धि मान्छे )हरू नियुक्त गरिएको आरोप लगाउँदै यस संस्थाले अब “घृणा र मूर्खता” मात्र सिकाउने आरोप लगाए।

यो कदम केवल हार्वर्डमात्र होइन, सम्पूर्ण उच्च शिक्षण संस्थाहरूका लागि चेतावनीको संकेत हो। राष्ट्रपति ट्रम्पले शिक्षा क्षेत्रमा वोक कल्चर (जातीय समानता ,लैङ्गिक पहिचान,एलजिबिटीक्यु ,अधिकार ,सामाजिक न्याय पर्यावरणीय चेतना)लाई हटाउने आफ्नो अभियानलाई अझ तीव्र बनाउँदैछन्। यदि कर-मुक्त दर्जा खारेज भयो भने हार्वर्डजस्ता संस्थाहरूको भविष्यमा ठूलो असर पर्न सक्छ

हार्वर्ड र विवाद :

हार्वर्ड विश्वविद्यालय विश्व कै प्रतिष्ठित र अमेरिकाको सबैभन्दा प्रतिष्ठित र पुरानो उच्च शिक्षण संस्था—हालै विभिन्न विवादमा मुछिएको छ। अक्टोबर ७, २०२३ मा इजरायल हामास युद्ध सुरु भएपछि, अमेरिकी विश्वविद्यालयहरूमा छात्रहरूबीच इजरायल पालेस्टाइनको समर्थनमा विभाजन देखिन थाल्यो। यस क्रममा हार्वर्डका केही विद्यार्थी समूहहरूले इजरायल विरुद्ध कडा वक्तव्य जारी गरे, जसले विश्वविद्यालय प्रशासनमाथि कडा आलोचना निम्त्याएको छ ।

कर-मुक्त दर्जा के हो -५०१ (सि) (३)? :

अमेरिकामा ५०१ (सि) (३)अन्तर्गत दर्ता भएका संस्था (जसमा हार्वर्ड पनि पर्छ) कर नतिरी सञ्चालन गर्न पाउँछन्, किनभने तिनीहरूलाई “शैक्षिक, धार्मिक वा परोपकारी” उद्देश्यको संस्था मानिन्छ। यदि यस्तो संस्था सरकारले तोकेको आचरणको सीमा नाघ्छ वा राजनीतिक पक्षपाती गतिविधिमा संलग्न हुन्छ भने यसको कर-मुक्त दर्जा खारेज गरिन सक्छ।

ट्रम्पको कडा सन्देश :

राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्डमाथि आक्रामक भाषामा हमला गरेका छन् । यस प्रकारको आलोचना उनले धेरैजसो शीर्ष विश्वविद्यालयहरूको “उदारवादी पूर्वाग्रह” को विरुद्धमा गर्दै आएका छन्।
संभावित असरहरू

हार्वर्डको कर-मुक्त दर्जा खारेज भएमा विश्वविद्यालयलाई बिलियन डलर बराबरको आर्थिक नोक्सानी हुन सक्छ। किनभने ठूलो मात्रामा दानदाताहरूले दान गर्दा कर कटौती पाउने सुविधा गुम्नेछन्।

यो कदम अन्य विश्वविद्यालयहरूका लागि पनि चेतावनी हुन सक्छ । राजनीतिक रूपमा संवेदनशील विषयमा निष्क्रियता वा अस्पष्टता राखे कडा कारबाही हुन सक्छ।

प्रतिक्रिया