राष्ट्रपति ट्रम्पकी कट्टर समर्थक अमेरिकी सांसद मार्जोरी टेलर ग्रीनको नगर सभामा तनाव: विरोध प्रदर्शनमा हस्तक्षेप, ३ जना पक्राउ

इनेप्लिज २०८२ वैशाख ३ गते २:०१ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको कोब काउन्टीमा आयोजित अमेरिकी सांसद मार्जोरी टेलर ग्रीनको टाउन हल(नगर सभा) कार्यक्रममा विरोध प्रदर्शनका क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये दुई जना पुरुषलाई स्टन गन (विद्युत झट्का उपकरण)प्रयोग गरी नियन्त्रणमा लिइएको हो।

आकवर्थ प्रहरी विभागका प्रहरी एरिक मिस्ट्रेट्टाका अनुसार, “परिस्थिति नियन्त्रण गर्न आवश्यक बल प्रयोग गरिएको थियो।”

स्टन गन (विद्युत झट्का उपकरण)प्रयोग गर्नुअघि ती पुरुषहरूसँग प्रहरीबीच धक्का-मुक्की भएको जनाइएको छ। उनीहरू कार्यक्रम स्थलबाट हटाउने प्रयासमा प्रतिवाद गरिरहेका थिए। यद्यपि, उनीहरूले र अन्य प्रदर्शनकारीहरूले के विरोध गरिरहेका थिए भन्ने खुलाइएको छैन।

मार्जोरी टेलर ग्रीनले सुरुमा विरोध रोक्न प्रयास गर्दै सहभागीहरूलाई यो राजनीतिक भेला नभई नगर सभा भएको बताइन्। तर उनले प्रत्यक्ष रूपमा दर्शकको प्रश्न स्वीकार नगरी, पर्दामा देखिएका प्रश्नहरू मात्रै पढिन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर समर्थक ग्रीनले आलोचनात्मक प्रश्नहरूलाई मजाक उडाउँदै ती प्रश्नहरू गर्नेहरूलाई बारम्बार “ब्रेनवाश(विचार/धारणा परिवर्तन ) गरिएका” भनेर आरोप लगाइन्।

ग्रीनको कार्यक्रममा विरोध चर्किंदै गएको छ । स्थानीय प्रशासनले अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया