युक्रेन रुस बीच युद्ध बिराम वार्ता चल्दै गर्दा पवित्र आइतबार रुसी आक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।
रुसले आइतबार युक्रेनको उत्तरपूर्वी शहर सुमीमा गरेको प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक )मिसाइल आक्रमणमा कम्तीमा २१ जना निर्दोष नागरिकको ज्यान गएको छ। यो हमला पाम सन्डे अर्थात् इसाई धर्मको एक महत्वपूर्ण धार्मिक पर्व मनाइरहेको बेला भएको हो।
सुमीका कार्यवाहक नगर प्रमुख (मेयर)आर्टेम कोबजार तथा आपतकालीन सेवाहरूका अनुसार २१ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आन्तरिक मामिलामन्त्री इहोर क्लिमेन्कोका अनुसार, ८३ जना घाइते भएका छन्।
सुमी नगर परिषदले आक्रमणले आवासीय भवनहरू लगायत धेरै संरचनामा क्षति पुर्याएको जनाएको छ। नगर प्रमुख कोबजारले भने, “यस पवित्र दिनमा हाम्रो समुदायले भयानक पीडा भोग्नु परेको छ।”
राष्ट्रपतिको कार्यालय प्रमुख आन्द्रिय येर्माकले लेखे, “रुसीहरूले क्षेप्यास्त्र प्रहार गरेर सुमीमा नागरिकहरूको हत्या गरे।” राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले यो आक्रमण सामान्य शहरको सडक, घर, बिद्यालय र गाडीलाई लक्षित भएको बताए ।
“यस्तो कार्य केवल कायरले मात्र गर्न सक्छ। निर्दोष नागरिकको ज्यान लिने काम कसैको पनि क्षमा योग्य छैन। पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उद्धार कार्य जारी छ,” उनले टेलिग्राममा लेखे ।
जेलेंस्कीले अन्तर्राष्ट्रिय समुदायसँग कडा प्रतिक्रिया दिदै आक्रमण रोक्न माग गरे । उनले भने “संयुक्त राज्य अमेरिका, युरोप, र सम्पूर्ण विश्वले अब निर्णायक कदम चाल्नुपर्छ। जब आक्रमणकारीमाथि गम्भीर दबाव हुन्छ तब मात्र शान्ति सम्भव भएको उनले बताए ।
प्रतिक्रिया