यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीको जन्मशहर क्रिभी रीहमा शुक्रबार भएको रुसको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना बालबालिका रहेका थिए। यो वर्षकै सबैभन्दा घातक आक्रमणमध्ये यो एक हो।
क्रिभी रीहका नगर प्रमुख (मेयर )ओलेक्सान्दर भिल्कुलका अनुसार, आक्रमणमा ६८ जना घाइते भएका छन् जसमा तीन महिनाको शिशु पनि परेका छन् ।
आक्रमणले दर्जनौं ठूला आवासीय भवन (अपार्टमेन्ट )भवन, ६ वटा शैक्षिक संस्थान र थुप्रै पसलहरूलाई क्षति पुर्याएको छ। उनले यसलाई “दुःखद साँझ र राती ” भन्दै वर्णन गरेका छन् ।
यूक्रेनी सेनाका अधिकारीले जनाए अनुसार रुसी सेनाले क्लस्टर वॉरहेड भएको प्राक्षेपिक क्षेप्यास्त्र (बलिस्टिक मिसाइल )प्रयोग गरेको थियो, जसले ठूलो क्षेत्रलाई क्षति पुर्याउने उद्देश्य राख्दछ।
राष्ट्रपति जेलेंस्कीले मृतक र घाइतेका परिवारप्रति समवेदना प्रकट गर्दै क्षेप्यास्त्र बालबालिका खेल्ने स्थान र आवासीय क्षेत्रमा आक्रमण गरिएको बताए ।
रुसले खेरसोनको विद्युत् केन्द्रमा पनि मानव रहित यान (ड्रोन )आक्रमण गरेको राष्ट्रपति जेलेंस्कीले जानकारी दिए।
यता, रुसी रक्षा मन्त्रालयले क्रिभी रीहको एक चमेनागृहमा युक्रेनी र पश्चिमी सैन्य अधिकृतहरूबीचको बैठकलाई लक्षित गरेर गरिएको “उच्च सटीकता भएको आक्रमण” भएको दाबी गरेको छ।
युद्ध अन्त्यको प्रयास गरिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको शान्ति पहलका बीच संघर्ष चाँडै सकिने संकेत अझै देखिएको छैन।
प्रतिक्रिया