क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएली आप्रवासीहरूको अस्थायी संरक्षित स्थिति (टिपिएएस) अन्त्य गर्ने निर्णयलाई ढिलो गराउने आदेश दिएका छन्।
टिपिएस कार्यक्रम अन्तर्गत हाल करिब ३५०,००० भेनेजुएली आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला हुनबाट जोगाइरहेको छ।
यसअघि गृह सुरक्षा सचिव क्रिस्टी नोएमले गत फेब्रुअरीमा घोषणा गरेको निर्णय अनुसार, यी आप्रवासीहरूले आगामी अप्रिल ७ देखि सरकारद्वारा जारी गरिएका काम गर्ने अनुमति र देश निकाला सुरक्षा गुमाउने थिए।
तर सोमबार अमेरिकी जिल्ला अदालतका न्यायाधीश एडवर्ड चेनले टिपिएसधारकहरूको पक्षमा निर्णय गर्दै नोएमको कदमलाई अनिश्चितकालका लागि स्थगित गरे।
न्यायाधीश चेनले नोएमको निर्णयलाई “अभूतपूर्व” भन्दै आलोचना गरे।
उनले अमेरिकी सरकारले पहिले कहिल्यै यति अचानक टिपिएस कार्यक्रम बन्द नगरेको र यस निर्णय भेनेजुएलीहरूबारे नकारात्मक पूर्वाग्रहमा आधारित भएको बताए।
चेनले नोएमको आदेशमा भेनेजुएली आप्रवासीहरूलाई अमेरिकी समुदायमा बोझ भएको र गिरोहका सदस्यहरू अमेरिका प्रवेश गरेको उल्लेख गरिएको भन्दै त्यसलाई अस्वीकृत गरे।
चेनका अनुसार,नोएमको कदमले लाखौँ मानिसहरूको जीवन, परिवार र जीविकोपार्जनमा गम्भीर असर पार्न सक्छ, जसले अमेरिकी अर्थतन्त्रमा अर्बौंको घाटा पुर्याउने र सार्वजनिक स्वास्थ्य तथा सुरक्षामा नकारात्मक प्रभाव पार्न सक्छ।
न्यायाधीशले नोएमको निर्णय अवैधानिक, मनपरी र असंवैधानिक पूर्वाग्रहयुक्त रहेको ठहर गर्दै मुद्दा अगाडि बढ्दा वादीहरू जित्ने सम्भावना रहेको उल्लेख गरे।
प्रतिक्रिया