रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग सांसद पद निलम्बन फुकुवाको आग्रह

बेद प्रसाद घिमिरे २०८१ चैत १८ गते ९:४८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेर सांसद पद निलम्बन फुकुवाको आग्रह गरेका छन्। मंगलबार बिहान सिंहदरबार पुगेका लामिछानेले आफ्नो सांसद पद फुकुवा गरिदिन सभामुख घिमिरेसँग आग्रह गरेका हुन्।

भेटपछि लामिछानेले आफूले राखेको विषयमा सभामुख घिमिरे सकारात्मक देखिएको बताए। आफ्नो सांसद पद निलम्बनबारे अन्य राजनीतिक दलहरूसँग छलफल गरिदिन सभामुखसँग आग्रह गरेको उनले बताए।

उनले भने,’सभामुखसँग छलफल भयो। उहाँ मैले राखेको विषयमा चिन्तित हुनुहुन्छ। ऐन आकर्षित कुराहरू केके हुन् यसबारे कानुनी उपचारका लागि पनि ठाउँ राख्नुहोस् भन्नु भयो। छलफलको प्रयास गर्छु भन्नुभयो।’

गत कार्त्तिक २ गते सभापति लामिछाने सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए। उक्त कसूरमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो। सो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ।

प्रतिक्रिया