राष्ट्रको सुरक्षा पहिलो: ट्रम्पको ऐतिहासिक १ ट्रिलियन डलरको रक्षा बजेट प्रस्ताव

इनेप्लिज २०८२ वैशाख १९ गते १८:३४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षाका लागि ऐतिहासिक १ ट्रिलियन(खर्व) डलर बजेट प्रस्ताव गर्ने तयारी गरेका छन्। यो रकम अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा बजेट हो। 

एक प्रशासनिक अधिकारीका अनुसार यो प्रस्ताव अहिलेको करिब ८९३ बिलियन(अर्ब )डलरको स्तरबाट उल्लेखनीय वृद्धि हो।

ट्रम्पले लामो समयदेखि रक्षा खर्चलाई १ ट्रिलियन डलरमा पुर्‍याउने संकेत दिँदै आएका थिए। नयाँ बजेटमा महँगो “गोल्डेन डोम” क्षेप्यास्त्र रक्षा पद्धति(मिसाइल डिफेन्स सिस्टम) जस्ता योजना पनि समावेश गरिनेछ।

मंगलबार मिशिगनको सेल्फ्रिज वायु राष्ट्रिय सेवा आधार शिविर(एयर नेशनल गार्ड बेस)मा आयोजित कार्यक्रममा ट्रम्पले भने, “म हाम्रो राष्ट्रिय सुरक्षामा ऐतिहासिक १ ट्रिलियन डलरको लगानीको समर्थन गर्दैछु। यो संसारकै सबैभन्दा ठूलो, हाम्रो देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य बजेट हुनेछ।”

उनले थपे, “कुनै पनि देशले यति ठूलो लगानी गरेको छैन। हामी यो वर्षका लागि १ ट्रिलियन डलरको सैन्य बजेट लिएर अगाडि बढिरहेका छौं।”

यो प्रस्तावित बजेट त्यतिबेला आएको हो, जब ट्रम्प प्रशासनले अन्य क्षेत्रको खर्च कटौती गर्ने तयारी गरिरहेको छ। 

तर राष्ट्रिय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै ट्रम्पले देशको रक्षा क्षमतामा अभूतपूर्व वृद्धि गर्ने दृष्टिकोण प्रस्तुत गरेका छन्।

प्रतिक्रिया